काठमाण्डौ । केनरा बैंक ठगीको आरोप लागेका जेट एयरवेजका संस्थापक शनिबार मुम्बईको विशेष अदालतमा उपस्थित भए ।

अनि भावुक मुद्रामा हात जोड्दै भने, ‘मैले आशा गुमाएको छु।स्वास्थ्य पनि बिग्रिएको छ । म जेलमै मर्नु राम्रो हुन्छ ।’ 

कुनै समय जेट एयरवेज भारतको सबैभन्दा ठूलो निजी एयरलाइन्समध्ये एक थियो ।कम्पनीका संस्थापक हुन् ७४ वर्षिय नरेश गोयल ।

सन् १९९० को दशकमा टिकटिङ एजेन्टबाट उद्यमी बनेका नरेश गोयलले जेट एयरवेज इन्डिया लिमिटेड स्थापना गरेका थिए । कुनै समय कम्पनीसँग १२० वटासम्म विमानहरू थिए ।

‘द जोय अफ फ्लाइङ’ ट्याग लाइन रहेको कम्पनीले राम्रो व्यवसाय गर्दा दैनिक ६५० उडान गरेको थियो । तर कम्पनी बन्द हुने अवस्थामा आइपुग्दा भने जम्मा १६ वटा मात्र जहाज बाँकी थिए ।

२०१९को मार्च  सम्ममा कम्पनीको घाटा ५ हजार ५३५.७५ करोड भारु थियो ।कम्पनीले उक्त ऋण थेग्न नसकेपछि सबै विमानहरु २०१९, १७ अप्रिल  ग्राउन्डेड भएका थिए ।आर्थिक संकटको कारण कम्पनी ऋण चुक्ता गर्न असक्षम भएको छ ।

गोयलमाथि केनरा बैंकलाई ५३८ करोड भारु ठगी गरेको आरोप छ । उनलाई प्रवर्तन निर्देशालय (ईडी) ले गत वर्ष सेप्टेम्बर १ मा बैंक ठगीको आरोपमा पक्राउ गरेको थियो । उनी अहिले न्यायिक हिरासतमा छन् । उनीमाथि मनि लन्ड्रिङ केस छ ।
 

केनरा बैंकले एउटा अडिटमा जेट एयरवेजले १ हजार ४१०.४१ करोड भारु सम्बन्धित अन्य कम्पनीलाई ट्रान्सफर गरेको आरोप लगाएको छ।

कम्पनीमाथि ५३८.६२ करोड भारु बक्यौता छ । जेट एयरवेजमा संस्थापक नरेश गोयल र उनका परिवारको करीब ५२ प्रतिशत हिस्सा छ । जबकि रणनीतिक साझेदार र आबुधाबीको कम्पनी इतिहादको २४ प्रतिशत हिस्सा छ ।

हुन त भारतीय स्टेट बैंक (एसबीआई) को नेतृत्वमा बैंकको समूहले जेट एयरवेजको समस्या समाधानका लागि योजना बनाएर काम गरिरहेको छ ।

कम्पनीका खाताहरु निलम्बन गरिएका छन् भने प्रहरीले कम्पनीका पूर्व निर्देशक गौरांग शेट्टी, नरेश गोयल र उनकी पत्नी अनिता गोयलमाथि निगरानी राख्दै आएको छ ।

गोयलले सन् १९९३ मा जेट एयरवेजको स्थापना गरेका थिए, सन् २०१९ मा उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए  । 
 

उनी यतिखेर हिरासतमै रहेर उपचार गराइरहेका छन् भने श्रीमति अनिता गोयल घरमै क्यान्सरसँग जुधिरहेकी छन् ।

उनले न्यायाधिश समक्ष जिवनको आशा गुमाएको भन्दै भावुक मुद्रामा आफ्नो स्वास्थ्य निकै बिग्रिएको भन्दै आफू जेलमै मर्न राम्रो हुने बताएका थिए ।

तर त्यसको प्रतिउत्तरमा न्यायाधिश एमजी देश पाण्डेले भने वकिललाई उनको स्वास्थ्य बारे ख्याल राख्न निर्देशन दिएका थिए ।-एजेन्सी