-प्रकाश बञ्जारा
प्राकृतिक छटाहरुले सुन्दर हाम्रो शहरलाई अझ सफा र आकर्षक बनाउन नेपालले अब विदेशबाट सिक्नुपर्ने बेला भएको छ । आफैंमा सुन्दर रहेको शहरलाई बढ्दो शहरीकरणका साथै चेतनाको कमी  र हेलचेक्राईका कारण आज शहर आउँदा हामीलाई कुनै औद्योगिक क्षेत्रमा आएको महसुस हुन्छ । राजधानीमा जाँदा त झनै माक्स नलगाई वरपर हिँड्न समेत सकिन्न । बढ्दो फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, सार्वजनिक सवारी साधनमा हुने लापरबाहीका साथै सवारी व्यवस्थापन र शहरलाई सफा सुन्दर र आकर्षक बनाउन विश्वका विकसित देशले के गरेका छन् ?हाम्रा लागि यी विषय प्रेरणा  र सिकाईका स्रोत बन्न सक्छन् ।

लगभग १० बर्ष खाडी मुलुकमा बसेर देखेको, भोगेको र सुनेको कुरालाई यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानेको  छु । सुन्दर र आकर्षक शहर निर्माणका लागि खाडी मुलुक संयुक्त अरब ईमिरेट्सको दुवई प्रान्तमा भएका निर्माणका कार्य र उदाहरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छु ।जसलाई हेरेर नेपाल र नेपाली कसरी अघि बढ्न सकिन्छ भन्ने पाठ अबश्य पनि सिक्न सकिन्छ । 

सबैभन्दा पहिलो व्यवस्थित शहरको खुड्किलो भनेको शिक्षा हो । जबसम्म जनता शिक्षित र सभ्य हुन सक्दैनन् तबसम्म सभ्य समाज निर्माण हुनै सक्दैन । दुवईको हिसावमा हेर्ने हो भने यहाँका वर्तमान युवा पुस्ता पूर्ण रुपमा शिक्षित छन् । पहिले पहिले उनीहरु युरोप,अमेरिका, अष्ट्रेलिया जस्ता देशमा गएर उच्च शिक्षा लिने गर्दथे भने अहिले युएईको विकास सँगै अमेरिकन, अष्ट्रेलियनका साथै युरोपियन थुप्रै विश्वविद्यालयहरु यहाँ खुलेका छन् । अन्तराष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गर्नलाई यहाँका जनताले बाहिर जानुपर्ने बाध्यता हटेको छ। त्थापि शिक्षाका लागि बाहिरी मुलुक जाने गरेका छन् । शाही  शासन भए पनि जनतालाई आवश्यक सम्पूर्ण कुरामा सरकार सजग मात्र हैन, जिम्मेवार समेत हुँदा बन्दहड्ताल, आन्दोलन, नाराबाजी यहाँ कहिल्यै सुनिदैन, र देखिदैन पनि । 

उदाहरणका लागि हालै यहाँका एक नागरिकले बढ्दो महँगीलाई थेग्न कम आय भएका नागरिकलाई गाह्रो भएको प्रतिक्रिया स्थानीय रेडियोको लाईभ कार्यक्रममा राखेपछि उनलाई यहाँका प्रधानमन्त्री शेख महम्मद विन रसिद अल मक्तुमले क्याविनेट मिटिङ्गमै बोलाएर गरिब जनताको विषयमा कुरा बाहिर ल्याएकोमा धन्यवाद दिँदै उनलाई सामाजिक अनुसन्धानकर्ताको जागिर समेत दिए । यसरी एक सामान्य नागरिकलाई क्याविनेट बैठकमै बोलाएर धन्यवाद प्रदान गर्ने सायद युएई पहिलो देश नै होला । 

शिक्षामा यहाँको सरकारले ठूलो रकम खर्च गरेको छ, जसले सहजै रुपमा गुणस्तरीय शिक्षा जनताले पाएका छन् । जनसंख्याको हिसाबले हेर्दा यहाँको जनसंख्या एकदमै कम छ । यहाँको पूरा जनसंख्याको ७० प्रतिशत जनसख्या प्रवासी छन्, जो हामी जस्तै यहाँ मजदुरी गर्न आफ्नो देश छोडेर यहाँ आएका छन् ।  

शिक्षा पछिको जनआवश्यकता भनेको स्वास्थ्य हो । यहाँका जनताले सहज रुपमा स्वास्थ्यको पहँुच पाएका छन् । जनघनत्वलाई मध्यनजर गर्दै निजी क्लिनिकहरु प्रशस्त खुलेका छन् ।ती  स्वास्थ्य संस्थाहरुले सबै विरामीलाई प्राथमिकताका साथ हेरचाह गर्छन् । स्वास्थ्य सम्बन्धी काम गर्न सरकारबाट अनुमति लिनुपर्ने, साथै हरेक स्वास्थ्यकर्मीले हेल्थ अथोरिटिबाट लाईसेन्स लिनुपर्ने भएकाले  लापरबाही भएको खण्डमा कडा कानुनी कारवाही हुने हँुदा सबै आफ्नो काममा सजग र जिम्मेवार देखिन्छन् । आफ्ना नागरिक मात्र नभएर यहाँ बस्ने र काम गर्ने सबैको स्वास्थ्य बिमा गर्नैपर्ने बाध्यकारी व्यवस्था भएको हुँदा सबै कामदारको स्वास्थ्यबिमा रोजगारदाता कम्पनीले नै गरिदिने गर्छन् । त्यसो हँुदा सानो तलवमा काम गर्ने कामदारहरुले पनि समान स्वास्थ्यको अधिकार पाउँछन् । 

बिमा कम्पनी  र कार्यरत  कम्पनीको सम्झौता अनुसार सर्भिस फि बाहेकको डाक्टर चेकजाँच र औषधिको खर्च बिमा कम्पनीले नै व्यहोर्ने गर्छन । कुनै कुनै सानो प्रोफाइलको कम्पनीले कामदारलाई उपचारको केही प्रतिशत तिर्ने गरी सम्झौता गर्ने भएता पनि धेरै कम्पनीको बिमामा सर्भिस फि बाहेक अन्य कुनै प्रकारको शुल्क तिर्नुपर्दैन । 

कुनै आपतकालिन अवस्थामा १५ मिनेटभित्र तोकिएको ठाउँमा पुग्ने गरी एम्बुलेन्स सेवा चालु गरिएको छ । एम्बुलेन्सलाई कल गर्न जुनसुकै फोन तथा ठाउँबाट निशुल्क ९९८ मा कल गरे पुग्छ । यहाँको एम्बुलेन्स सेवा सरकारबाटै सञ्चालित छ । हालै मात्र यहाँको सरकारले एम्बुलेन्स सेवालाई सशुल्क बनाएको छ, वर्षौदेखि यो सेवा निशुल्क थियो । अहिले एम्बुलेन्स सेवा लिएबापतको पैसा पनि बिमा कम्पनीबाट सरकारले लिने गरेको छ । 
 शहरमा फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकालाई जिम्मा दिइएको छ ।

निजी कम्पनीहरुले निश्चित ठाउँमा जम्मा गरेर राखिएको फोहोरलाई नगरपालिका र अन्य फोहोरमैला व्यवस्थापन कम्पनीका गाडीले सम्बन्धित डम्पिङ्ग साईटसम्म पुर्याउँछन् । नगरपालिकाले फालिने फोहोरको प्रकृति हेरेर कुहिने फोहोरबाट विद्युत निकाल्ने प्रक्रिया थालेको छ जसले उर्जाको विकासमा सहयोग पुर्याउनुका साथै फोहोरका लागि चाहिने ठूलो हिस्सा ओगट्ने जग्गालाई समेत अन्य कामका लागि सदुपयोग गर्न सकिन्छ । सार्वजनिकस्थल जस्तै सपिङ्ग मल, पव्लिक बिच, कुनै पनि जनसेवाका लागि खुलेका सबै कार्यालयहरुमा फोहोर जथाभावी नफालियोस् भनेर डस्टविनहरु राखिएका हुन्छन् । सर्बसाधारण आफैं जिम्मेवार भएर आफूले काम गर्दाका बखत आएका विभिन्न प्रकृतिका फोहोरहरु फरक फरक डस्टबिनमा जम्मा गरिदिन्छन् । कार्टुन,कागज, पेप्सी कोकाकोलाका क्यानहरु जस्ता रिसाइक्लिन गरेर प्रयोग गर्न सकिने हुनाले कुहिने फोहोरसँग मिसाएर फाकिँदैन, जसले वातावरणको विनाशलाई रोक्ने काम गर्छ । सार्वजनिक स्थलमा जथाभावी फोहोर फाकेको भेटिएमा नगरपालिकाले ५ सय दिराम जरिवाना तोकेको छ, केही भन्न नपाई चूपचाप जरीवाना तिर्नैपर्छ ।

सार्वजनिक यातायातलाई यहाँ साह्रै राम्रो ढंगले व्यवस्थित गरिएको छ । सार्वजनिक बस र दुवई मेट्रो यहाँको ठूलो हिस्सा ओगटेका सार्वजनिक यातायात हुन्,  जसलाई यहाँको सरकारले नै सञ्चालन गरेको छ । ट्याक्सी भने सरकारबाटै नियन्त्रित भएता पनि निजी कम्पनीहरुले चलाएका छन्, तर नियन्त्रण र नीति नियमनको काम आरटिएले नै गर्छ । न्यूनतम शुल्क भन्दा बाँकी जति यात्रा गरिन्छ,त्यही अनुसार ट्याक्सीको मिटर अनुसार शुल्क तिर्नुपर्छ । बस र मेट्रोका लागि भने सबै दुरी अनुसारकोे भाडादर तोकिएको हुन्छ । नेपालमा जस्तो मुन्द्रा लगाएर  घुडामा फाटेको जिन्स पाईन्ट लगाउनेलाई भाडा नलिने र सोझो सिधालाई लाग्नेभन्दा डबल भाडा लिने चलन यहाँ छैन  । मेट्रो र बसमा यात्रा गर्ने सबैले एकदिने टिकट, तथा रोड एण्ड ट्रान्सपोर्ट अथोरिटिले लागू गरेको नोल कार्ड खरिद गर्नुपर्छ । नोलकार्डलाई जुनकुनै मेट्रो स्टेसन, बसपार्क तथा तोकिएका एजेन्टबाट रिचार्ज गर्न सकिन्छ । कुनै पनि एकतर्फी यात्रा गर्नुपूर्व कार्डमा कम्तीमा ७ दिराम  तथा दुईतर्फी यात्रा गर्नुपर्ने भए कार्डमा कम्तीमा १० दिराम ब्यालेन्स अनिवार्य हुनुपर्छ । यदि कम ब्यालेन्समै यात्रा गरेको पाईएमा चेक जाँचमा आउने सुरक्षा अधिकारीले जरिवाना तिराउँछन् । यस्तो अपराधको जरिवाना २ सय १० दिरामबाट सुरु हुन्छ । गाडीमा तथा मेट्रो दुवैमा महिला तथा केटाकेटीका लागि फरक क्याबिन छुट्टाइएका छन्, ती क्याविनमा अन्य प्यासेन्जर बसेको पाईएमा पनि जरिवानाको भागिदार हुनुपर्छ । 

सार्वजनिक यातायातमा यात्रा गरेका बखत अन्य यात्रुलाई असर नपरोस भनेर खान तथा पिउन मनाही गरिएको छ । यद्यपि  लामो दुरीको यात्रामा भने गाडीमै खाना र चिया आदि बेच्न राखिएको छ । 

माथि उल्लिखित केही चित्र(झलक)हरु एउटा विकसित मुलुकले कसरी व्यवस्थालाई मजबुत पार्दै सुन्दर शहर बनाएका छन् भन्ने उदाहरुण हुन् । अतः नीतिनियमलाई कडा बनाईनुका साथै देशको समग्र विकासमा सम्पूर्ण नागरिकहरु आफैंमा जिम्मेवार हुनु जरुरी हुन्छ । जबसम्म हामी हाम्रो जिम्मेवारीबाट पन्छिरहन्छौ तबसम्म विकास कुनै पनि हालतमा सम्भव हुँदैन ।  

(बञ्जारा दुबईस्थित बिजशाला संवाददाता हुन्।)