-रेखा चन्द
काठमाण्डौ । देश यतिबेला चुनाबी महासङ्ग्राममा होमिएको छ। देशभरका मतदाताहरु आगामी ५ वर्षका लागि योग्य उम्मेदवारलाई मतदान गर्न आतुर छन्। यद्यपि भोलि ३ गते एकदिन मात्रै बाँकी रहेको र बिहीबार रातिदेखि  मौन अवधि सुरु भएकाले उम्मेदवारहरुको खुलेआम प्रचारबाजी भने रोकिएको छ। 

यसपटक चुनावको माहौल विगतको तुलनामा बिल्कुलै फरक छ। लामो समय विभिन्न पार्टीका नेताहरुले चलाएको यो देशले युवा नेतृत्व पाउने आशा समेत कतिपयले गर्ने गरेका छन् । आउँदो ४ गते देशभर एकैसाथ भईरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा देश परिवर्तनका लागि युवा पुस्ता नयाँ र केही फरक एजेण्डासहित अगाडि आएका छन् भने पुराना र ठूला भनिएका राजनीतिक पार्टीहरुले पनि विभिन्न एजेण्डा अघि सरेका छन्। 

गत बैशाखको स्थानीय निर्वाचनदेखि मतदाताहरुको सोंचमा परिवर्तन भएको पाइन्छ । परिवर्तित सोंचको प्रस्फूटन यो पटकको निर्वाचनमा हुन्छ या हुँदैन त्यो हेर्न बाँकी नै छ । यहीबेला हामीले कर्पोरेट तथा बैंकिङ क्षेत्रका अगुवाहरुलाई चुनावमा कस्ता व्यक्तिलाई मतदान गरेर जिताए देशको आर्थिक समृद्धि होला ? भन्ने विषयमा केन्द्रीत रहेर प्रश्न सोधेका छौं । 

यसपटक नेपालका विवेकशील मतदाताले सामाजिक, आर्थिकलगायत सबै सवालहरुलाई उठान गर्नसक्ने र जनताको समस्यालाई बुझ्नसक्ने नेता छान्नुपर्ने एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सुुदेश खालिङ बताउँछन्। मतदानको मौका ५ वर्षमा एकपटक आउने हुनाले आफ्नो अधिकारलाई बुझेर मतदान गर्नुपर्ने उनको भनाई छ। ‘घरदैलो कार्यक्रम भन्दै ५ वर्षमा एकपटक आउने, त्यसपछि मुखै नदेखाउने र खासै परिवर्तन पनि नभएको हामीले विगत ५ वर्षमा भोगिसकेका छौं।’ उनले भने–‘अब त्यस्तो नहोस् भन्नका लागि राम्रो नेताको पहिचान गरेर भोट दिनुपर्छ ।’ 

पार्टी विशेषभन्दा पनि आफ्नो गाउँ, समाज र देशलाई हरेक क्षेत्रबाट उत्थान गर्नसक्र्ने व्यक्ति छान्नुपर्ने सीइओ खालिङको सुझाव छ। ‘एकदमै होसियारीपूर्वक आफ्नो र सही नेता छान्नुपर्छ। ५ वर्षमा आएको यो मौकालाई यसपटक चुकाउनु हुदैँन।’ उनले भने।

कुुन पार्टीका कुन नेतालाई मत हाल्ने भन्दा पनि जनताले देखेको समृद्धिको सपनालाई साकार पार्नसक्ने व्यक्तिको आवश्यकता रहेको सानिमा बैंकका सीइओ निश्चलराज पाण्डे बताउँछन्। ‘यो पार्टी त्यो पार्टी, यो नेता त्यो नेता भन्दा पनि अब आउने व्यक्तिले सही काम गर्नसक्नुुपर्छ’ उनले भने ‘अहिले सबैले खोजेको भनेको समृद्धि नै हो। र, जनताको भोट सबैभन्दा ठूलो कुरा हो। सोहीअनुसार सक्षम र आर्थिक समृृद्धिका लागि भिजन भएको व्यक्तिलाई छनौट गर्नुपर्छ ।’
 

सीइओ पाण्डेले आगामी निर्वाचनबाट सही व्यक्ति जुन पार्टीबाट जिते पनि हुने र राजनीतिक स्थिरता कायम हुने आशा गरिएको बताए । 

नियत सफा र इमानदार व्यक्तिहरु निर्वाचनबाट छानिएर आउनुुपर्ने नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवाली बताउँछन्। ‘अबको निर्वाचनबाट चुनिनुपर्ने मान्छे यो वा त्यो पार्टीको भन्दा पनि सफा नियत, इमानदार र भिजन भएको आउनुपर्छ ।’ उनले भने । 

बाटोमा कुर्लिएजस्तो देश चलाउन सजिलो नभएको बताउँदै उनले राजनीति, कुटनीति, अर्थतन्त्र, समाज, अन्तराष्ट्रिय  सम्बन्धलगायतका धेरै कुरा बुझेको व्यक्तिलाई भोट दिएर जिताउनुपर्नेमा जोड दिए । 

पुराना नेताहरुलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने उनको तर्क छ। देशमा समस्या रहेता पनि समाधानको कुरा भने कसैले नगर्ने गरेको उनको गुनासो छ ।  अहिलेका नयाँहरुमा पनि पुराना व्यक्ति तथा व्यवस्थाहरु खराव भएको भन्दै दोष लगाउने ट्रेन्ड देखिएकोमा उनको असन्तुष्टि छ। ‘राजनीतिमा बिग्रिएको कुरा भनेकै नियत र इमानदारिता ठीक नहुनु हो । त्यसकारण यी दुई कुरा ठीक भए बाँकी कुरा स्वतः राम्रो हुुन्छ।’उनले थपे ।