काठमाण्डौ। बैंक तथा वित्तीय संस्थाहरुको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल नै रहेको छ। 

नेपाल राष्ट्र बैंकको हिजो शनिबारसम्म तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो औषत ९० प्रतिशतभन्दा तल रहेको छ। गत शुक्रबार औसत सीडी रेसियोमा ८९.३५ प्रतिशत रहेकोमा शनिबार थोरै बढेर ८९.३७ प्रतिशत पुगेको छ। 

राष्ट्र बैंकले यही असार मसान्तसम्ममा सीडी रेसियो ९० प्रतिशतभन्दा तल झार्न निर्देशन दिएको छ। 

त्यसो त झन्डै ५ महिनापछि बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा तल झरेको हो। यद्यपि अहिले पनि कतिपय बैंकको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि नै रहेको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै सीसीडी रेसियो खारेज गर्दै सीडी रेसियो लागू गरेको थियो। 

शनिबारसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप घटेर ४३ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ। गत शुुक्रबारसम्म कुल निक्षेप ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो। यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँले घटेको छ। 

समग्र बैंक तथा वित्तीय कुल निक्षेप भने शनिबारसम्म १ अर्ब रुपैयाँले घटेर ४९ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ। गत शुक्रबारसम्म कुल निक्षेप ४९ खर्ब ८३ अर्ब रुपैयाँ रहेको थियो। 

यस्तै वाणिज्य बैंकले शनिबारसम्म कुल ४१ खर्ब ७६ अर्ब रुपैयाँ कुुल कर्जा प्रवाह गरेका छन्। शुुक्रबारसम्म वाणिज्य बैंकले कुल ४१ खर्ब ७६ अर्ब रुपैयाँ नै लगानी गरेका थिए।

राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी स्थिर ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ।