काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति ल्याउन तीव्रताका साथ आन्तरिक तयारी गरिरहेका छ। 

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र व्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।

यतिबेला पुँजीबजारदेखि आम व्यापार–व्यवसाय गरेर बसेकाहरु राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको प्रतीक्षामा छन्। पुँजीबजारका लगानीकर्ताले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बजारलाई सकारात्मक सम्बोधन हुने अपेक्षामा छन्। उनीहरुले सेयर धितो कर्जामा १२ करोड क्याप हट्नेदेखि लिएर जोखिम भारमा घट्नेमा आशावादी छन्। 

अहिले राष्ट्र बैंक मौद्रिक नीति ल्याउने तयारीमा जुटेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्। ‘आउँदो आइतबार (साउन ७ गते)सम्म मौद्रिक नीति ल्याउने लक्ष्यसहित विभागस्तरमा कामकारबाही भइरहेको छ’, उनले भने, ‘आउँदो आइतबारसम्म ल्याउन नसकिए साउन ९ गते (मंगलबार)सम्म भने मौद्रिक नीति सार्वजनिक हुनेछ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भोलि बुधबार स्वदेश फर्किंदैछन्। गभर्नर फर्किएसँगै मौद्रिक नीतिका विषयमा थप छलफल हुने र राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेसँगै सार्वजनिक गरिने बताइएको छ। 

मौद्रिक नीतिमा सरोकारावाला निकायहरुबाट प्राप्त रायसुझाव अध्ययन राष्ट्र बैंकको विभागस्तर अध्ययन गर्ने काम भइरहेको राष्ट्र बैंक स्रोत बताउँछन्। ‘पछिल्लो समय मुलुकमा देखिएका आर्थिक परिदृश्य र सरोकारावाला निकायबाट प्राप्त रायसुझावका आधारमा मौद्रिक नीति आउनेछ’, स्रोत भन्यो।