काठमाण्डौ । विविध महत्वकाँक्षी योजनासहित काठमाडौं क्यापिटल लिमिटेडको औपचारिक शुुभारम्भ भएको छ । 

मंगलबार उद्योगमन्त्री नविन्द्रराज जोशीले एक कार्यक्रम बीच यो कम्पनीको उद्घाटन गरेका हुन्।

एक अर्ब अधिकृत पूँजी भएको यो कम्पनीमा हाल ७ जनाको संचालक समिति छ भने सर्वसाधारण शेयर जारी भएपछि सर्वसाधारण शेयरधनीबाट दुई संचालक समितिमा थप गरिने बताइएको छ । २ सय छपन्न जना संस्थापक शेयरधनी रहेको काठमाडौं क्यापिटल लिमिटेडले पँुजी बजारमा आफ्नो आगमन उत्पादनमूलक क्षेत्रमा लगानी र रोजगारी सिर्जनामार्फत राज्यलाई आर्थिक समृतिमा डोहोर्याउनका लागि भएको बताएको छ । उसले नेपालका खानीहरुको अनुसन्धान, उत्खनन, हाइड्रोपावर निर्माण लगायतको क्षेत्रमा लगानी गर्ने बताएको छ । 

३२ करोड २४ लाख चुक्तापूँजी भएको यो कम्पनीमा हाल संस्थापकहरुले २२ करोड ५६ लाख ८० हजार लगानी गरेका छन् भने करिब १० को हाराहारीमा सर्वसाधारणका लागि सार्वजनिक निश्कासन हुनेछ । तीन वर्षभित्र कम्पनीको चुक्तापूँजी १ सय करोड पुर्याउने लक्ष्य लिइएको छ । 

यो कम्पनीले पहिलो वर्ष सेयरधनीलाई २५ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत लाभांश वितरण गर्ने कार्ययोजना समेत सार्वजनिक गरेको छ । 
देशका व्यापारी, बैंकर तथा सिएका यो कम्पनीमा बढी लगानी रहेको छ । 

उद्घाटन कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले काठमाडांै क्यापिटल लिमिटेडले गाउँ गाँउमा गएर सम्भावना भएका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । 

उनले नेपालमा भएका पब्लिक इन्भेष्टमेन्ट कम्पनीले सहर केन्द्रीत भएर घर जग्गामा मात्र लगानी गरेका भन्दै यो कम्पनीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरे । देश र जनताका लागि काम गर्ने जोसुकै कम्पनीलाई पनि आफूले सहयोग गर्ने बताउँदै मन्त्री जोशीले कम्पनीको बारेमा सोच्न भन्दा देशको बारेमा सोचेर आफ्ना काम अगाडि बढाउन आग्रह गरे । 

कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले सबै शेयर सदस्यहरुको भवना अनुसार, नियम कानुनमा रही देश र जनताको पक्षमा काम गर्ने बताए । 

त्यस्तै, काठमाडौं क्यापिटल लिमिटेडले नेपालमा सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरी देशको समृद्धिमा टेवा पुर्याउने संचालक समितीका सदस्य दिपक पाण्डेले बताए ।