काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा कात्तिक महिनामा मात्रै ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ । 

नेपाल बीमा प्राधिकरका अनुसार जीवन बीमा कम्पनीहरुबाट कात्तिक महिनामा ६ हजार ९१ जनाले बीमा पोलिसी त्याग गरेका हुन् । 
प्राप्त तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुमा पोलिसी सरेण्डरदर घट्दै गइरहेको छ । असोज महिनाको तुलनामा कात्तिक महिनामा सरेण्डरदर ३८.६८ प्रतिशतले घटेको छ । 

असोज महिनामा ९ हजार ९३६ जनाले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग गरेका थिए । बीमा प्राधिकरणले पोलिसी सरेण्डरदर बढ्दै गएपछि सो सम्बन्धी व्यवस्थामा कडाइ गरेको छ । जीवन बीमा पोलिसी सरेण्डर कम गर्न लिएको नीतिको कारण नै पोलिसी त्याग गर्नेको संख्या घट्दै गएको प्राधिकरणले बतााएको छ । 

कात्तिक महिनामा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सबाट १ हजार ७७७ जना बीमितद्वारा २६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको छ । 

त्यस्तै, एलआईसी नेपालका १ हजार १५५ जना बीमितबाट १७ करोड ४५ लाख, एशियन लाइफका ९८७ जना बीमितबाट १२ करोड १९  लाख, राष्ट्रिय जीवन बीमा कम्पनीका ४५० जना बीमितबाट ४ करोड ६० लाख, हिमालयन लाइफका ४७७ जना बीमितबाट ४ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्याग भएका छन् । 

त्यस्तै, नेशनल लाइफका ३९१ बीमितबाट ६ करोड ३३ लाख, मेट लाइफका १६४ जना बीमितबाट १ करोड ३७ लाख, सूर्यज्योति लाइफका १९७ बीमितबाट २ करोड ८४ लाख, सिटिजन लाइफका १५३ जना बीमितबाट ८३ लाख रुपैयाँ,  रिलायबल नेपाल लाइफका ७३ जना बीमितबाट ४० लाख रुपैयाँको बीमा पोलिसी त्याग भएको छ ।  

यसैगरी, आइएमई लाइफका ६४ जना बीमितबाट ४८ लाख, सन नेपाल लाइफका ५१ जना बीमितबाट ६० लाख, सानिमा रिलायन्स लाइफका ९३ जना बीमितबाट ९७ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफका ५८ जना बीमितबाट ६८ लाख रुपैयाँको बीमा पोलिसी त्याग भएको छ ।