मैले २०४४ सालमा बाग्लुङको धौलागिरी वीरेन्द्र माविबाट एसएलसी दिएको हुँ । म द्वितीय श्रेणीमा उत्तीर्ण भएको हुँ, प्रतिशत भने बिर्सिसकेँ । 

त्यतिबेला एसएलसी पास गर्नु निकै चुनौतिपूर्ण काम हुन्थ्यो । दुर्गम क्षेत्रको स्कूलमा अहिलेको जस्तो पाठ्य सामाग्री र स्रोत साधनहरुको पर्याप्तता हुन्न थियो । सरकारी किताबको भरमा पढेर एसएलसी दिनुपर्ने भएकोले ठूलो पर्खालको रुपमा बुझ्थ्यौं हामीले एसएलसीलाई । 

तर अहिलेको जस्तो रिसोर्सेबलहरु नभए पनि हामी राम्रै मेहेनत गथ्र्यौं । सेल्फ स्टडी र खोजीकै भरमा परीक्षाको तयारी गर्नुपथ्र्यो । शिक्षकहरुको पनि आफ्नै समस्या थिए । 

हाम्रो गाउँ निकै दुर्गम क्षेत्रमा थियो । पोखरा पुग्नलाई हाम्रो घरबाट एक दिनको पैदल यात्रा पार गर्नुपथ्र्यो । अहिले हाम्रो गाउँमा मोटरबाटो पुगिसकेको छ । 

त्यो बेलामा हाम्रो स्कूलबाट ७५ जनाले एसएलसी दिएका थिए । त्यसमध्ये ४३ जना उत्तीर्ण भए र उत्तीर्णको त्यो सूचिमा मेरो नाम पनि अटायो । 

मैले १, २ र ३ कक्षा गाउँको एउटा सानो कटेरोमा पढेँ । त्यसबेला गणेश श्रेष्ठ नामको शिक्षक हुनुहुन्थ्यो, उहाँलाई सबैले ‘बाङ्गे गुरु’ भनेर बोलाउँथे । उहाँसँगै चकटीमा बसेर कालोपाटी र चकको भरमा ३ कक्षासम्मको पढाई पूरा गरेको हुँ । ४ कक्षादेखि ७ सम्म अर्को निमाविमा पढ्न गएँ । ८ देखि चाहि सो विद्यालयमा पढ्न थालेको थिएँ । घरबाट नजिकैको डाँडामा हाम्रो स्कूल थियो, घरदेखि आधाघण्टाको पैदल दूरीमा । 

प्राक्टिकल भन्दै ढुंगा बोक्दै
त्यसबेलाको मावि स्तरको पढाईमा प्रयोगात्मक काम पनि गर्नुपथ्र्यो । तर प्रयोगात्मक भनेर बिषय भन्दा भिन्न काम गराउने चलन थियो । हामी स्कूलमा समेत प्राक्टिकल भन्दै खोलाबाट ढुंगा बोकेर ग्राउण्ड बनाउने काम गथ्र्यौ । त्यसबेला हाम्रो स्कूलको ऐच्छिक बिषय कृषि र अप्सनल म्याथ थियो, यिनै बिषयका प्राक्टिकल भन्दै ढुंगा बोक्थ्यौं र ग्राउण्ड बनाउने काम गथ्र्यौ । त्यसो त गाउँका अन्यले समेत स्वस्फूर्त रुपमा ग्राउण्ड बनाउने काममा सहयोग गर्थे । 

रिजल्टको त्यो छटपटी !
एसएलसीपछि किशोर मानसिकताले धेरै दवाब, त्रास खपेको अझै पनि याद आउँछ मलाई । समाज र वरिपरिका साथीभाईबीचमा चिनिँदा ‘यो केटो ठीकै छ’ भनेर चिनिन्थेँ । तर मेरो व्यथा चाहि फरक थियो, कारण मैले परीक्षा बिगारेको थिएँ । यसमा मेरो ओभर कन्फिडेन्ट वा ढंग नपुगेर भएको हुनसक्छ । फेल नै पो भइएला कि भन्ने त्रासले समेत मेरो मन कुटुकुटु खाइरहन्थ्यो । कहिले एसएलसीको रिजल्ट आउला र त्यो गुम्साई कम होला भन्ने लाग्थ्यो । 

मेरो परिवारमा बुबाले समेत एसएलसी पास गर्नुभएको थियो । म भन्दा ८ वर्ष जेठो दाईले त झन् प्रथम श्रेणीमा पास गर्नुभएको थियो । यसकारण समेत मलाई एसएलसी पास गर्नैपर्ने पारिवारिक र सामाजिक दवाब थियो । 

एसएलसी अनुतीर्ण हुँदा त्यसबेला परिवार, समाज र साथीभाईले के भन्लान्, कति छिः छिः दूर दूर गर्लान्, यस्तै यस्तै त्रासले मन खाइसकेको थियो । 

त्यही दिन गोरखापत्रमा हेरियो रिजल्ट
संयोग नै भन्नुपर्छ, दुर्गम भएर पनि हामीले एसएलसीको रिजल्ट चाहि त्यही साँझ नै हेर्ने मौका पायौं । हाम्रो घरदेखि करिब अढाई घण्टाको दूरीमा अवस्थित बलेवामा एयरपोर्ट थियो । त्यही दिनको फ्लाइटबाट काठमाण्डौबाट आएको कसैले गोरखापत्र ल्याएछ, त्यही भएर हामीलाई रिजल्ट थाहा पाउन त्यति धेरै कुर्नुपरेन । कतिपयको रिजल्ट भने आवा(आकाशवाणी)बाट समेत थाहा भएको थियो, त्यसबेला जताततै टेलिफोनको पहुँच थिएन । द्वितीय श्रेणीमा पास भइयो भनेर सोही साँझ थाहा पाए पनि पर्सेन्टेज भने निकै पछि मात्र थाहा पाएका थियौं । 

घरमा खीर पाक्यो, छिमेकीलाई मासु–रक्सीको भोज
फेल हुन्छु भन्ने लागिरहेको बेला द्वितीय श्रेणीमा एसएलसी पास भएको थाहा पाउँदा मेरो खुशीको सीमा नै रहेन । त्यो बेलाको खुशीको अनुभूति अचम्मकै थियो । 

म फेल हुन्छु होला भन्ने लागेकै कारण अब गाउँ नबस्ने र विदेश भाँसिने सोंच बनाइसकेको थिएँ । अबको मेरो यात्रा विदेश हो भन्ने लागेको थियो । 

मेरो परिवारमा बुबाले समेत एसएलसी पास गर्नुभएको थियो । म भन्दा ८ वर्ष जेठो दाईले त झन् प्रथम श्रेणीमा पास गर्नुभएको थियो । यसकारण समेत मलाई एसएलसी पास गर्नैपर्ने पारिवारिक र सामाजिक दवाब थियो । धन्न मैले दवाब थेग्न सकेँ भन्ने लाग्यो । मलाई त त्यो बेला लगभग युद्ध नै जितेको अनुभूत भयो । 

मैले इमानदारितापूर्वक भन्नुपर्छ, म फेल हुन्छु होला भन्ने लागेकै कारण अब गाउँ नबस्ने र विदेश भाँसिने सोंच बनाइसकेको थिएँ । अबको मेरो यात्रा विदेश हो भन्ने लागेको थियो । तर धन्न पास भएँ, विदेश जानु परेन ! 

पास भएपछि घरमा सबै खुशी हुनुभयो । छरछिमेक पनि खुशी भए । खुशी साट्नलाई घरमा आमाले खीर र आलुदम बनाउनुभयो । हाम्रो घर नेवार समुदायको माझमा रहेकोले र हामी थकाली भएकाले समेत छरछिमेकलाई बोलाएर साँझको समयमा मासु र रक्सीको स्न्याक्स टक्र्यायौं । त्यो बेला मेरी आमा आफैंले घरमा रक्सी पार्नुहुन्थ्यो । 

यसरी गरेँ बिषयको छनौट
एसएलसी उत्तीर्णपछि धेरै विद्यार्थी र उनका अभिभावकमा देखिने समस्या हो बिषय छनौट । मैले चाहि धेरैको सल्लाहबाट बिषय छनौट गरेको थिएँ । छरछिमेक र केही आफन्तले मेरो बुबालाई ‘दाईलाई चाहि साइन्स पढाउने, भाईलाई चाहि पढाउनु पर्दैन ?’ भनेर दवाब दिने गरेका थिए । तर मलाई साइन्समा केही गर्न सक्छु भन्ने पिटिक्कै लाग्दैन थियो । त्यति मात्र होइन, पढाईमा म भन्दा निकै धेरै जान्ने र क्वालिटी भएका मेरो दाईले समेत साइन्समा खासै राम्रो नम्बर ल्याउनु सक्नुभएको थिएन । यो कारण समेत साइन्स पढ्न भनेपछि म तर्सिएँ । बाग्लुङमा कलेज थियो, तर त्यहाँ मानविकी संकायको मात्र पढाई हुन्थ्यो । यही कारण म पढ्नैका लागि भनेर पोखरा आएँ । पोखराको बगर भन्ने ठाउँमा मेरी सानिमाको पसल थियो, एसएलसी दिएकोदेखि रिजल्ट आउनेसम्मको अवधिमा म सानिमाको घरमा बसेको थिएँ । त्यो पसलमा खाना र खाजा खान बैंकर, कलेजका लेक्चरर, कर्मचारी आउथे । उहाँहरु सबैको सुझावबाट पिएन कलेजमा मैले आइकममा भर्न लिएँ । 

हाम्रो घर नेवार समुदायको माझमा रहेकोले र हामी थकाली भएकाले समेत छरछिमेकलाई बोलाएर साँझको समयमा मासु र रक्सीको स्न्याक्स टक्र्यायौं । त्यो बेला मेरी आमा आफैंले घरमा रक्सी पार्नुहुन्थ्यो । 

पोखरामा आइकम प्रथम वर्ष मात्र पढेँ, फेरि पनि कन्फिडेन्टकै कुरा आयो । विजिनेश म्याथ पढ्नुपथ्र्यो त्यसबेला, अरु सबै बिषय ठीकै भए पनि मेरो यो बिषय चाहि बिग्रिन थाल्यो । ७० बढी ल्याइएला भनेर परीक्षा दिन गएको, सबै बिग्रिने भयो । केही लेखेर मेरो पालो परीक्षा छाडी फिल्म हेर्नतिर लागेँ । त्यो बेला परीक्षा छाडेर बिन्ध्यवासिनी हलमा फिल्म हेर्न गएको क्षण सम्झँदा अझै पनि हाँस उठेर आउँछ । पछिबाट मैले काठमाण्डौमा रहेका दाईलाई  यो कुरा सुनाएँ । त्यसपछि दाईले काठमाण्डौ नै बोलाउनुभयो । त्यसपछि पढाई सुरु भयो काठमाण्डौको पब्लिक युथ क्याम्पसमा । त्यहाँबाट मैले आइकम प्रथम र दोश्रो वर्ष उतीर्ण गरेँ । त्यसपछि बिकम शंकरदेवबाट गरेँ । बिकम उत्तीर्ण हुँदा नहुँदै जागिरे जीवन सुरु भयो । जागिरको सिलसिलामा अधिकांश समय काठमाण्डौ बाहिर बस्नुपर्ने भएकोले स्नातकोत्तर चाहि स्नातक पास गरेको ६ वर्षपछि मात्र बल्लतल्ल पास गरेँ । 

जीवन परीक्षाको सँगालो, नआत्तिनु, नमात्तिनु !
एसएलसीलाई हाउगुजीको रुपमा बुझ्नु हुँदैन । यसलाई हाउगुजीको रुपमा बुझे यसबाट विद्यार्थी निराश भई दुर्घटना निम्तिन सक्छ । एसएलसी भन्दाअघि पनि परीक्षा दिएका छौ, कुनै बेला पास भइएको होला कुनै बेला फेल भइएको होला भनेर सहज रुपमा बुझ्नुपर्छ । एसएलसीमा फेल हुँदैमा, वा सोचेभन्दा कम नम्बर वा डिभीजन आउँदैमा अत्तालिने आवश्यकतै छैन । त्यसभन्दा पछि पनि जीवनमा धेरै खुड्किला पार गर्नुपर्छ, धेरै अवसरलाई पछ्याउनुपर्छ । 

यस्तो बेलामा असफल हुँदा वा कम नम्बर तथा ग्रेड ल्याउँदा हतास मनस्थिति बनाउनुहुन्न । कतिपय अवस्थामा सामाजिक, पारिवारिक र साथीभाईको खिसीट्यूरी र अन्य दवाब तथा त्रासका कारण समेत कलिला विद्यार्थीको दिमागमा गलत योजना बनिदिन्छ । यसकारण यस्तो बेलामा समाज, परिवार र साथीभाईहरुले समेत विशेष ध्यान दिनुपर्छ । 

जीवनमा समय र अवसरलाई सही ढंगले सदुपयोग गर्न जान्नुपर्छ, सक्नुपर्छ । परीक्षा जिन्दगीमा धेरैपटक हुन्छ, प्रत्येक दिन जस्तै परीक्षा हुन्छ । जीवन नै एउटा परीक्षाको सँगालो हो । हरेक दिनलाई अवसरको रुपमा लिने मानिसले नै संसार जित्छ । 

हतास अलिकति पनि हुनु हुँदैन । यसपछि पनि धेरै अवसर छन्, एकचोटि लडिन्छ, उठेर अगाडि बढ्ने मानिस मात्र भविष्यमा राम्रो ठाउँमा पुग्छ । एकपटक फेल भइयो भन्दैमा निराश हुनुपर्ने, एकपटक पास भइयो भन्दैमा अति उत्साहित भएर हौसिनुपर्ने आवश्यकता हुन्न । 

जीवनमा समय र अवसरलाई सही ढंगले सदुपयोग गर्न जान्नुपर्छ, सक्नुपर्छ । परीक्षा जिन्दगीमा धेरैपटक हुन्छ, प्रत्येक दिन जस्तै परीक्षा हुन्छ । जीवन नै एउटा परीक्षाको सँगालो हो । हरेक दिनलाई अवसरको रुपमा लिने मानिसले नै संसार जित्छ । 

बिषय र कलेज छनौटमा सुझबुझ आवश्यक
आफ्ना बच्चाले एसएलसी पास गरेपछि सबैभन्दा पहिला आफ्नो क्षमतालाई हेर्नुपर्छ अभिभावकले । किनभने अहिले शिक्षा त्यति सस्तो छैन । त्यति सजिलो पनि छैन । विद्यार्थीको चाहना अनेक हुनसक्छ, तर अभिभावकले आफ्नो क्षमता अनुसार योजना बनाउनुपर्छ । आफ्नो क्षमता अनुसार पढाउँदा विद्यार्थीले बीचमा नराम्रो फिल गर्नुपर्दैन, आफ्नो अवस्थालाई बिग्रन नदिन, नसक्ने खालको विषय र कलेज ताक्नुहुँदैन, यो गल्ती गरियो भने धेरै जीवनहरु अप्ठ्यारोमा पर्नसक्छन । 

तपाई जे विषय बढ्न खोज्दै हुनुहुन्छ, त्यसमा विशेषज्ञता हासिल गर्ने प्रयास गर्नुहोस् । त्योसँग सँगै देश र समाजलाई पनि बिर्सनु हुन्न ।

अर्कोतर्फ विद्यार्थीको चाहनालाई बुझ्न पनि उत्तिकै आवश्यक हुन्छ । हिजोआज अलिक बुझ्छन । किनभने सामाजिक रुपमा त्यस्तो किसिमको म्यासेजहरु गइरहेको छ । सूचनाको माध्यम जस्तै, टिभी, सामाजिक सञ्जाल, पत्रपत्रिका, तपाईहरुको जस्तो अनलाइनदेखि सबैतिर आफ्नो छोराछोरीको इच्छा र चाहना बुझौं भन्ने म्यासेज पनि गाउँठाउँमा पुगेकै अवस्था छ । विद्यार्थीले पनि कुन बिषयमा म राम्रो गर्नसक्छु, कुनमा गर्न सक्दिँन भन्ने कुरा बुझ्न थालेको छ । अहिले स्रोतहरु धेरै छन्, टेक्निकल्ली हिजोआजका विद्यार्थी पहिलाको भन्दा धेरै साउण्ड छन्, धेरै अगाडि छन् । 

देशलाई नभूलौं
मेरो सुझावमा तपाई जे विषय बढ्न खोज्दै हुनुहुन्छ, त्यसमा विशेषज्ञता हासिल गर्ने प्रयास गर्नुहोस् । त्योसँग सँगै देश र समाजलाई पनि बिर्सनु हुन्न । सबैले काठमाण्डौ वा शहरमा मात्र केन्द्रीत बन्नु हुँदैन । अझै पनि  नेपालमा धेरै भूभाग त्यस्ता छन्, जहाँ शिक्षकको पनि खाँचो छ, नर्सको पनि खाँचो छ, कृषि प्राविधिकहरुको पनि खाँचो छ, सबै क्षेत्रको खाँचो छ । त्यसकारण जे पढ्छौ राम्रो गरौं, देशका लागि पनि केही गर्नसक्ने वातावरण आफैंले पनि तयार पारौं । सरकारको मात्र मुख नताकौं, त्यसको सुरुवात गर्ने समय पनि एसएलसी पछाडि नै हो । अभिभावक र विद्यार्थी मात्र होइन, शिक्षा क्षेत्रको ठेक्का लिनेहरुले समेत यो कुरा सोचिदिनुपर्यो । 

पैसा पनि कमाउन पर्ला, तर योसँगै देश र समाजका लागि पनि केही सोच्नुपर्छ भन्ने भावना एसएलसी उतीर्णहरुले अहिलेदेखि नै राख्न आवश्यक छ । 

(प्रभू बैंकको सीइओ अशोक शेरचनसँगको कुराकानीमा आधारित)