काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी  कमर्सियल बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद मुनाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले खूद नाफा ४६.६७ प्रतिशतले बढाएको हो । यो बैंकले ०७२.७३ मा ३८ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । त्यसअघिको आबमा बैंकको खूद नाफा २६ करोड ८ लाखमा सीमित थियो । 

बैंकले मंगलबार प्रकाशित गरेको वित्तीय विवरणका अनुसार बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो बढोत्तरी भएको छ । ६५ करोड ६४ लाखमा सीमित रहेको ब्याज आम्दानी बढेर ८७ करोड ९७ लाख पुगेको हो । 

यो बैंकको चुक्तापूँजी २ अर्ब ४ करोड रुपैयाँ रहेको छ र सञ्चित कोषमा ५३ करोड २६ लाख रुपैयाँ छ।

बैंकले २८ अर्ब ९६ करोड निक्षेप संकलन गरी २५ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ । यसअघिको आबमा २४ अर्ब ९४ करोड निक्षेप संकलन गरी २० अर्ब ३५ करोड ऋण लगानी भएको थियो । 

बैंकले निस्क्रिय कर्जालाई समेत घटाएको छ । आर्थिक वर्ष ०७१/७२ मा ०.२७ प्रतिशत रहेको यस्तो कर्जा यो वर्ष घटेर ०.२४ मा झरेको हो । 

प्रति सेयर आम्दानी १३.४७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११८.७५ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात(पीई रेसियो) ३४.२३ रहेको छ । 

सेञ्चुरी बैंकले केही समयअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरीदको सम्झौता गरिसकेको छ । यो वर्ष ३० प्रतिशत हकप्रद निकालेको यो बैंकले आगामी दिनमा अरु संस्थासँग मर्जर वा एक्वीजिसनमा जाने वा यस्ता संस्था नभेटिए ५० प्रतिशतसम्म हकप्रद जारी गरी राष्ट्रबैंकले तोकेको ८ अर्ब पूँजी पुर्याउने नीति लिएको छ ।