काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अर्थमन्त्रीबाट गठित अध्ययन कार्यदलको प्रतिवेदनमा समेटिएका सबै सुझाव कार्यान्वयन गर्ने वचन दिएका छन् । 

मंगलबार संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो वचन दिएका हुन् ।

उनले प्रतिवेदनमा समावेश ५८ बुँदामध्ये नेपाल राष्ट्रबैंकले गर्नुपर्ने काम भनी २७ वटा बुँदा सुझावका रुपमा आएका र तिनको तत्काल कार्यान्वयन गरिने प्रष्ट पारे । 

राष्ट्रबैंकको भागमा परेका सेयर बजारसँग सम्बन्धित सुझावहरु एकदुई दिनमै कार्यान्वयन हुने समेत उनले खुलाए । 

केन्द्रीय बैंकको दवाबमा बंैक तथा बित्तीय संस्थाहरुले ब्याजदर घटाएका र यसले समेत सेयर बजारमा सकारात्मक प्रभाव पारेको उनको भनाई छ । ‘सेयर बजारसँग सम्बन्धित सुधारका सुझावहरु समेत एकदुई दिनमै कार्यान्वयन भएपछि बजारमा सुधार हुन्छ ।’–गभर्नर नेपालले दाबी गर्दै भने ।

उनले सो क्रममा सहायक कम्पनी नखोली बैंकहरुले सेयर ब्रोकरको लाइसेन्स दिन पाउने व्यवस्था हुन लागेको खुलासा समेत गरे । 

प्रतिवेदनमा समेटिएको सुझाव झै बण्ड तथा डिवेञ्चर बजारको बिस्तारका लागि प्राथमिक पूँजी र निक्षेपको निश्चित प्रतिशत रकम त्यस्तो बजारमा लैजाने व्यवस्था समेत गर्न लागिएको उनले जानकारी दिए ।