काठमाण्डौ । बैंकहरुले प्रवाह गर्ने सहुलियतपूर्ण कर्जाको व्यापक दुरुपयोग भएको गुनासाहरु बारम्बार आउने गरेका छन् । 

बैंकहरुलाई यस्तो कर्जा प्रवाह गर्दा सरकारले ब्याजदर अनुदान उपलब्ध गराउँछ । बैंकहरुले ब्याजदरमा अनुदान आउने भएपछि लक्षित समूहलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन् । तर, पछिल्लो समय यस्तो कर्जामा व्यापक दुरुपयोग बढेको गुनासा समेत उत्तिकै सुनिन्छन् । 

मंगलबार एक कार्यक्रममा एक सरकारी बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)ले औपचारिक रुपमै सहुलियत कर्जा दुरुपयोग भएको र यसकै कारण अहिले बैंकहरुले यस्तो कर्जा रोक्नुपर्ने अवस्था सिर्जना भएको बताए । 

'मानिसहरु निजी गाडी चढेर सहुलियत कर्जा माग्न आउन थाले । अनि कसरी दिने ?' सरकारी लगानी समेत रहेको नेपाल बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंकर्स संघको कार्यक्रममा भने-'एकातिर लक्षित वर्गले यस्तो कर्जा नपाइरहेको अवस्था छ भने सरकारले दिनुपर्ने ब्याजअनुदान समेत लामो समयदेखि अड्काएर राखिदिएको छ । यसकारण पनि बैंकहरु यस्ता कर्जा प्रवाहका लागि अहिले प्रेरित भइरहेका छैनन् ।' 

उनले अधिकांश बैंकहरुले दुरुपयोगकै कारण यस्तो कर्जा रोके पनि ठप्पै भने नपारेको प्रष्ट बताए । सही ऋणि आएको खण्डमा अझै पनि हामी सहुलियत कर्जा दिन तत्पर छौं । उनले थपे । 

अर्को एक प्रसंगमा उनले अहिले नेपालका बैंकहरु चुस्त, स्थिर र बलियो अवस्थामा रहेका समेत दाबी गरे । नेपालका बैंकहरु वित्तीय हिसाबले समेत स्वस्थ अवस्थामा रहेका उनको भनाई छ ।