काठमाण्डौ । प्रहरीले बचतकर्ताको बचत फिर्ता नगरेपछि कान्तिभैरब बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित उक्त सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सहव्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो ।

 

सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारी ठगी गरेको कसुरमा प्रक्राउ परेकालाई वृत्तअन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा राखिएको छ ।

सहकारी सञ्चालक समितिका सचिवसमेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अङ्ग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको बताइएको छ ।

प्रहरीले उनीहरु सबैका नाममा पक्राउ पूर्जी जारी गरेको छ ।

सहकारीका सञ्चालकले ७ हजार ७०० बचतकर्ताको १ अर्ब २१ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ ।