काठमाण्डौ।सरकारले सर्बसाधारणको ठूलो परिमाणको रकम अपचलन भएपछि समस्याग्रस्त घोषित शिव शिखर सहकारी संस्थाका सदस्य बचतकर्तासँग  पाउनु पर्ने रकमको विवरण मागेको छ।
 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ३५ दिनभित्र मागदाबी आवेदन मागेको हो।

आवेदन अनलाइनमार्फत स-प्रमाण बुझाउनुपर्ने बुधबार प्रकाशित सूचनामा छ।

बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको उक्त सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले गत असारमा भारतबाट पक्राउ गरेर ल्याएको थियो।

काठमाण्डौ जिल्ला अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा छन्। सहकारीको काठमाण्डौ शाखाका सेयर सदस्यको उजुरीका आधारमा शर्मासहित डेढ दर्जन पदाधिकारी र व्यवस्थापन कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ।

काठमाण्डौमा रहेका शाखाका १ हजार १४५ जनाको ७८ करोड १९ लाख ६३ हजार रुपैयाँ बराबरको रकम अपचलन गरेको जाहेरी परेको थियो। ७८ करोडकै बिगोको कायम गरी मुद्दा दायर भएको थियो।
 

मन्त्रालयको मन्त्रीस्तरको गत भदौ २५ को निर्णयानुसार शिव शिखर बहुउद्देशीय सहकारी संस्था लिमिटेडलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि लेखी आएको समितिको सूचनामा उल्लेख छ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुले आफूले पाउनुपर्ने रकमको मागदाबी समितिको वेबसाइट www.coopmc.gov.np मा स-प्रमाण पेस गर्न भनिएको छ ।