काठमाण्डौ । कोशी प्रदेशमा सहकारी क्षेत्रको कुल कर्जामा ४.८ प्रतिशतको गिरावट आएको छ । 

नेपाल राष्ट्र बैंकले कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०७९र८० ले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार समिक्षा वर्षमा कोशी प्रदेशबाट सहकारी क्षेत्रले प्रवाह गरेको कुल कर्जा ४.८ प्रतिशतले घटेको हो । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारी संस्थाको कुल पुँजी २.१ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको पुँजी १२.७ प्रतिशतले वृद्धि भएको थियो ।

२०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारीको कुल बचत ६.८ प्रतिशत बढेको छ । २०७९ असार मसान्तमा सहकारीको बचत १३.८ प्रतिशत र कर्जा २३.५ प्रतिशतले बढेको थियो । २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा सहकारी संस्थाको सदस्य संख्या ७.४ प्रतिशत र कर्मचारीे संख्या ४.९ प्रतिशतले बढेको छ । २०७९ असार मसान्तमा सहकारी संस्थाको सदस्य संख्या १६.४ प्रतिशत र कर्मचारी संख्या २३.३ प्रतिशतले बढेको थियो ।

सहकारी संस्थामा बैंक तथा वित्तीय संस्थाको तुलनामा निक्षेपमा बढी ब्याज पाइने, र कर्जा लिने प्रक्रिया छोटो भएकाले बचत गर्न तथा ऋण लिन सर्वसाधारणको आकर्षण बढेको भए पनि पछिल्ला आर्थिक वर्षहरुमा बैंक तथा वित्तीय संस्थाहरुको शाखामा भएको विस्तारसँगै सहकारीप्रतिको विश्वसनियता घट्दो क्रममा रहेको देखिन्छ ।