काठमाण्डौ । कालिका लघुवित वित्तीय संस्था लिमीटेडको चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अधिकांश मुख्य बित्तीय सूचकमा पहिरो गएको छ।

यो कम्पनीको खूद नाफा, संचालन नाफा, रिजर्ब, इपीएस, नेटवर्थ लगायतका सूचकमा पहिरो गएको हो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ६५ लाख ४१ हजार खूद नाफा कमाएको कम्पनीले समीक्षा अवधिमा ४९ लाख १८ हजार रुपैयाँ मात्र कमाउन सक्यो ।

अघिल्लो वर्ष १ करोड २ लाख रहेको संचालन मुनाफातर्फ पनि ७३ प्रतिशतको हाराहारीमा पहिरो व्यहोरेको कम्पनीले यो वर्ष त्यस्तो मुनाफा २७ लाख ८१ हजार मात्र आर्जन गर्न सक्यो । 

कम्पनीको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४ करोड १३ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ६ करोड २ लाखको उचाईमा पुगेको छ । 

यो कम्पनीले समीक्षा अवधिमा ६० करोड २६ लाख निक्षेप संकलन गरी तथा ८३ करोड ५५ लाख सापटी लिई १ अर्ब ५३ करोड बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ४२ करोड ४६ लाख निक्षेप संकलन गरी तथा ५९ करोड ७५ लाख सापटी लिई १ अर्ब बढी कर्जा परिचालन गरेको थियो । यसरी कम्पनीले निक्षेपतर्फ करिब ४२ प्रतिशत, सापटीतर्फ ४० र कर्जातर्फ करिब ५२ प्रतिशतले फड्को मारेको देखिएको छ । 

कम्पनीको रिजर्बकोष भने अघिल्लो वर्षको तुलनामा ७.५२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ५ करोड ६० लाख रहेको यस्तो कोषको आकार केही घटी यो वर्ष ५ करोड १८ लाखमा सीमित भएको हो । 

समीक्षा अवधिमा कम्पनीले २.२३ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.५९ प्रतिशतमा झार्ने सफलता पाएको छ । 

खूद नाफातर्फको गिरावटका कारण वार्षिकीकृत प्रतिसेयर आम्दानीमा ४२.५७ प्रतिशतको पहिरो गएको छ । अघिल्लो वर्षको यही अवधिमा १५.८६ रुपैयाँ रहेको इपीएस घटेर ९.११ रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ  १४८.०३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०० गुणा कायम भएको छ ।