काठमाण्डौ । कालिका पावर कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ६९ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १० करोड ३५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९५ प्रतिशतले हुन आउने ५४ लाख ४७ हजार ५५० रुपैयाँबराबरको नगद लाभांश छन्। 

सोही बैठकले कम्पनीको वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा चितवनको भरतपुरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सोही सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित गरेपछि कार्यान्वयनमा आउनेछ। 

सभाले बोनस सेयर जारीपछि जारी तथा चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले कालिका कन्स्ट्रक्सन प्रालिअन्तर्गतको गोरखा जिल्लास्थित दरौँदी खोलामा प्रस्तावित माथिल्ला दरौँदी बी साना जलविद्युत आयोजना (८.३ मे.वा) र माथिल्ला दरौँदी सी साना जलविद्युत आयोजना (९.८२ मे.वा.) खरिद गर्ने सम्बन्धमा आवश्यक निर्णय लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १४ गते (पुस १५ गते शनिबार र १६ गते शनिबार)सम्म कायम सेयरधनीहरु लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।