काठमाण्डौ । देवः विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १३ स्थित कालीमाटीमा संचालनमा आएको कालीमाटी शाखाको औपचारिक उद्घाटन गरेको छ । 

चैत १ गते एक समारोहका बीच सो शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गरेका हुन् ।

बैंकका संचालक समितिका अध्यक्ष अवकासप्राप्त उपरथी बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिंदै मेयर शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासीसँग सहकार्य गर्ने र महानगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।  

कार्यक्रममा मन्तव्य दिंदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने बताए ।

बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक समृद्धिका लागि लगानी र अवसर सिर्जना गरिने विश्वास सहित बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा शाखा विस्तार गर्ने बताए ।