– मनिष सोती
काठमाण्डौ । एमडीआरटी ग्लोलब कन्फ्रेन्स २०२३ का लागि नेपालबाट १२ जना अभिकर्तामात्रै क्वालिफाइड भई सिंगापुर गएका छन्। १४ जीवन बीमा कम्पनीमध्ये ४ कम्पनीका अभिकर्तामात्रै उक्त कन्फ्रेन्समा सहभागी हुन सिंगापुर प्रस्थान गरेका हुन्।
जीवन बीमा अभिकर्ताको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन राउन्ड टेबल (एमडीआरटी)ले अगस्ट २७ देखि ३० सम्म ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३’ आयोजना गरेको छ। सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म बीमाशुल्क संकलन गरेर लक्ष्य पूरा गरेका अभिकर्ता सन् २०२३ को एमडीआरटी छनौट भएका हुन्।
क्वालिफाइड भएका अभिकर्तामध्ये सन् २०२३ का लागि नेपालका जम्मा १ दर्जन अभिकर्ताले मात्रै एमडीआरटी कन्फ्रेन्सका भाग लिन पाएका छन्। जसमा हिमालयन लाइफ इन्स्योरेन्सबाट रामकुमार अधिकारी र काशिराम ढकाल, सिटिजन लाइफबाट सन्तोष खरेल, सूर्यज्योति लाइफबाट गौरव शाहीको नेतृत्वमा सिर्जना पन्त र अमिताकुमारी चौधरी एमडीआरटी कन्फ्रेन्सका लागि क्वालिफाइड भई सिंगापुर गएका छन्।
त्यस्तै, सानिमा रिलायन्स लाइफबाट भने ६ जना अभिकर्ता नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट एमडीआरटी कन्फ्रेन्सका लागि क्वालिफाइटड भएका छन्।
विगतका वर्षमा नेपालबाट एमडीआरटी कन्फ्रेन्समा जाने अभिकर्ताको संख्या बढी हुने गर्दथ्यो। सन् २०२२ को एमडीआरटी सम्मेलनमा १९ जना अभिकर्ताको सहभागिता थियो।
सन् २०२१ मा नेपाली बीमा कम्पनीहरुमा १ हजारभन्दा बढी अभिकर्ता एमडीआरटीका लागि योग्य भएका थिए। तीमध्ये करिब २०० जनाले मात्रै एमडीआरटी कन्फ्रेन्स २०२२ का लागि आफूलाई रजिस्ट्रर गराएका थिए। त्यसमध्येबाट पनि १९ जना भाग्यमानी अभिकर्ताले मात्रै सम्मेलनमा भाग लिने अवसर पाएका थिए।
त्यस्तै, सन् २०२२ मा नेपाली बीमा कम्पनीहरुमा सन् २०२१ मा भन्दा कममात्रै अभिकर्ता एमडीआरटीका लागि योग्य भएको बीमा कम्पनीहरु बताउँछन्। तीमध्ये केहीले मात्रै एमडीआरटी कन्फ्रेन्स २०२३ का लागि आफूलाई रजिस्ट्रर गराएका थिए। तीमध्येबाट पनि १२ जना अभिकर्तामात्रै एमडीआरटी कन्फ्रेन्समा सहभागी हुन सिंगापुर गएका छन्।
सन् २०२१ को तुलनामा सन् २०२२ मा एमडीआरटीका लागि योग्य हुनेहरुको संख्यासमेत घटेको छ। नेपालका लागि एमडीआरडी कन्फ्रेन्समा सहभागीका लागि योग्य हुन वर्षभरि ३७ लाख ९२ हजार रुपैयाँ बीमाशुल्क आर्जन गनुपर्ने हुन्छ। त्यस्तै, १२ लाख ६४ हजार रुपैयाँ कमिसन र २१ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको हुनुपर्छ।
बीमा कम्पनीहरुमा एमडीआरटीको लक्ष्य पूरा गर्नेहरु धेरै भए पनि एक्चुअल आफूलाई रजिस्ट्रर गर्नेहरु कम हुने सिनियर एजेन्सी म्यानेजहरु बताउँछन्।
सन् २०२२ मा एमडीआरटीका लागि योग्य हुने अभिकर्ताको संख्या कम हुँदा कन्फ्रेन्समा जानेको संख्यामा समेत कमी आएको अभिकर्ता संघले जनाएको छ।
बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले अघिल्लो वर्षहरुको तुलनामा नेपाली बीमा कम्पनीहरुमा सन् २०२२ मा योग्य हुने एमडीआरटीको संख्या घटेको बताए। कम्पनीहरुको मर्जर तथा इकोनोमिक क्राइसिसका कारण एमडीआरटीको टार्गेट पुर्याउने अभिकर्ताको संख्यामा कमी आएको उनको भनाइ छ। ‘एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२३ का लागि जाने एमडीआरटीको संख्या समेत गत वर्षको तुलनामा घटेको छ’, उनले भने, ‘कम्पनीहरुले योग्य भएका एमडीआरटीलाई समेत प्रोत्साहन गर्न सकेको छैन। कन्फ्रेन्समा सहभागी हुन अभिकर्ताले आफैँ लाखौँ खर्च गर्नुपर्ने अवस्था छ।’
एमडीआरटी कन्फ्रेन्समा सहभागी हुनका लागि अभिकर्ताले रजिस्ट्रेसन फी, मेम्बरसिप फी, प्लेन टिकेट र लजिङ–फुडिङको खर्चसमेत आफैंले भर्नुपर्दछ। ‘एमडीआरटी कन्फ्रेन्स अभिकर्ताको प्रोफेसनल मिट सम्मेलन भए पनि स्वयं अभिकर्ताले नै लाखौँ खर्चेर जानुपर्ने अवस्थाले गर्दा यस्तो सम्मलेनमा जानेको संख्या घट्दै गएको छ’, अधिकारीले भने, ‘वर्षभरि एमडीआरटी क्वालिफाइडको संख्या धेरै भए पनि त्यसमध्येबाट पनि केहीले मात्रै रजिस्ट्रर गरेका हुन्छन्।’
रजिस्ट्रर गर्नेमध्ये पनि एमडीआरटीको मापदण्ड पूरा भएका र भिसा लाग्नेहरुले मात्रै सो सम्मेलनमा भाग लिन पाउने अधिकारीको भनाइ छ। ‘एमडीआरटी कन्फ्रेन्समा अभिकर्ताहरु सहभागी हुन विशेषगरी भिसाकै समस्या छ’, उनले भने, ‘विगतका वर्षमा केही अभिकर्ता एमडीआरटी कन्फ्रेन्सका लागि बाहिरिने र उतै पलायन हुने प्रवृत्तिले गर्दा पनि भिसामा कडाइ भई यस्तो सम्मेलनमा जानेको संख्या कमी हुन पुगेको हो।’
सन् १९२७ मा संस्थापना भएको एमडीआरटी बीमा अभिकर्ताका लागि अन्तर्राष्ट्रिय प्लेफर्ममा भाग लिन उपयुक्त अवसर हो। केही वर्षयता बीमा अभिकर्ता एमडीआरटी बन्ने होडबाजी नै चलेको छ। यस्तो सम्मेलनमा भाग लिँदा अभिकर्ताको व्यक्तित्व विकासमा पनि धेरै मद्दत पुग्ने यसअघिका सहभागीहरु बताउँछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago