काठमाण्डौ ।नेपाल बीमा प्राधिकरणले पन्छी बीमालेख संशोधन गरी पुनः जारी गरेको छ ।

यसअघि प्राधिकरणले पन्छी अन्तर्गत कालिज र अस्ट्रिचको मात्रै बीमा हुने गरी बीमालेख ल्याएको थियो । प्राधिकरणले ब्रोइलर, लेयर्स, प्यारेन्ट, ग्राण्ड प्यारेन्ट, हाँस, टर्की, लौकट, स्थानीय तथा उन्नतजातका कुखुरालगायतका घरपालुवा पन्छीको समेत बीमा हुने गरी ‘पन्छी बीमालेख’ जारी गरेको छ । 

कृषि बीमाअन्तर्गत खेतीपातीसँगै पशुपालनमा समेत कृषकहरुको आकर्षण बढेपछि किसान तथा व्यवसायीहरुको जोखिम बहन गर्ने अभिप्रायले पन्छी बीमालेख जारी गरेको बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बीजशाला डटकमलाई बताए । 
यस्ता छन् पन्छी बीमाका फाइदाहरु :
पन्छी बीमालेख अन्तर्गत बीमाअवधिभित्र पन्छीको विभिन्नकारणबाट क्षतिवानोक्सानीभएमाबीमाकम्पनीले बीमाङ्क रकमको सीमाभित्र रहीक्षतिपूर्ति प्रदान गर्नेछ । 

 

बीमा कम्पनीले बीमितले पालेको पन्छीहरुको अग्निजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, भूमीजन्य क्षति, चट्याङजन्य क्षति, रोगजन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्यकारणहरुबाट हुने क्षतिको बीमांक रकमको सीमाभित्र रही क्षतिपूर्ति प्रदान गर्नेछ । 
 

यसका साथै यस बीमालेख अन्तर्गत स्वयं बीमितको बीमाअवधिभित्र दुर्घटना भई अंगभंग भएमा बीमा कम्पनीले बीमितलाई बीमा रकम भुक्तानी गर्नेछ । 
 

बीमितको स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, कुनै एउटा हात वा कुनै एउटा खुट्टा पुरै काम नलाग्ने भएमा र दुई वटै आँखाको दृष्टि गुमेमा बीमा कम्पनीले दुर्घटना बीमाबापत बीमांक रकम २ लाख रुपैयाँ भुक्तानी गर्नेछ । 
पन्छी बीमालेखको बीमांक तथा बीमाशुल्क :
यस बीमालेख बमोजिम बीमा गरिने पन्छीको बीमा रकम कायम गर्दा स्थानीय बजारमा प्रचलितचल्लाको खरिद मूल्य र दाना प्रतिकेजी
 खरिद मूल्यको आधारमा कायम गरिने प्राधिकरणले बताएको छ । 
जस्तै, प्रतिपन्छीको बीमांक रकम बराबर प्रतिकेजी दानाको मूल्य र निर्धारित गुणाङ्कको गुणामा चल्लाको मूल्य जोड हुनेछ । निर्धारित गुणाङ्कअन्तर्गत ब्रोइरल कुखुराको गुणाङ्क ४.७५ र लेयर्स, ग्राण्ड प्यारेन्ट, प्यारेन्ट, हाँस, टर्की, लौकट, स्थानीय कुखुरा तथा अन्य घरायसी प्रयोजनकालागि पालिएका पन्छीको हकमा १०.२ गुणाङ्क मानिनेछ । 
विदेशबाट आयात गरिएको पन्छीको बीमांक निर्धारण गर्दा अनिवार्य रुपमा विदेशमा पैसा पठाएको प्रमाण, बिजक, ढुुवानीको निस्सा, राजस्व तिरेको कागज, प्रचलित कानून बमोजिम जारी गरिएको आधिकारिक क्वारेन्टाइन प्रमाणपत्र आदि पेश गर्नुपर्नेछ । 


साथै व्यवसायिक फार्मको हकमा भने अनुसूची–४ बमोजिमफार्म अभिलेख कायम गरिएको हुनुपर्नेछ । 

दाबी भुक्तानी :
यस बीमालेखअन्तर्गत ब्रोइलर कुखुरा र अन्य पन्छीको दाबी भुक्तानी फरक आधारमा हुनेछ । ब्रोइलर कुखुराको साप्ताहिक गुणाङ्क तालिका अनुसूची–८ बमोजिम र टर्की, लौकट, स्थानीय कुखुरालगायत अन्य घरायसी प्रयोजनको हकमा अनुसूची–९ बमोजिम भुक्तानी हुनेछ ।