काठमाण्डौ । जीवन बीमा गर्नुपूर्व बीमा कम्पनीको बोनसदरको बारेमा जानकारी हुनुपर्दछ ।

अधिकांश बीमितलाई आफुले बीमा गरेको कम्पनीले कति बोनस निर्धारण गरेको छ, त्यसको जानकार हुँदैन । आफुले लिएको बीमा लेख(पोलिसी) बाट वर्षेनी कति बोनस प्राप्त भइरहेको छ र अवधि पाकिसकेपछि एकमुष्ठ कति रकम प्राप्त हुन्छ त्यसको जानकारी लिनुपर्दछ ।  

हालसम्म १७ जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुको लागि नयाँ बोनसदर सार्वजनिक गरेका छन् । मर्जरपश्चात् हाल १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेपनि आर्थिक वर्ष २०७८/७९ को एक्चुरी भ्यालुएसपछि साविकका कम्पनीहरुले समेत छुट्टाछुट्टै बोनसरेट सार्वजनिक गर्नुपर्दछ ।

कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांकीय मूल्यांकन गरी बीमितहरुलाई प्रदान गरिने बोनसरेट घोषणा गरेका हुन् । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरुले सञ्चालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेलखहरुको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरेका हुन् । 

हालसम्म एशियन लाइफ, नेशनल लाइफ, आइएमई लाइफ, साविक प्राइम लाइफ, साविक युनियन लाइफ, साविक गुराँस लाइफ, साविक सानिमा लाइफ, साविक रिलायन्स लाइफ, मेट लाइफ, सिटिजन लाइफ, सन नेपाल लाइफ, साविक सूर्या लाइफ, साविक ज्योति लाइफ, रिलायबल नेपाल लाइफ, एलआइसी नेपाल, साविक प्रभु लाइफ र साविक महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७८/७९ को लागि बोनसदर सार्वजनिक गरेका छन् । 

बोनसदर तालिकाअनुसार कम्पनीहरुले घोषणा गर्ने अधिकतम बोनसदर पाइने बीमालेख कम मात्रामा बिक्री हुने गरेको देखिन्छ । बीमितहरुको आकर्षण लामो अवधि र बढी बोनसदर भएका बीमालेखको तुलनामा कम अवधि र कम बोनसदर भएका बीमालेखमा नै देखिन्छ ।  

कम्पनीको बोनसरेट चार्टअनुसार बीमितले छोटो अवधिका लागि जारी हुने बीमालेखमा कम बोनसदर पाउँछन्, भने लामो अवधिका लागि जारी हुने बीमालेखमा बढी बोनसदर पाउने देखिन्छ । तर, पछिल्लो समय लामो अवधिका बीमालेखमा बीमितहरुको आकर्षण घटिरहेको छ । तर बीमितले लामो अवधिका लागि बीमा गर्नु बढी फाइदाजनक हुने बीमा विज्ञहरु बताउँछन् ।

विज्ञहरुका अनुसार बीमितले बीमा गरेको बीमांक रकम र अवधि कम्पनीको बोनसदरको आधारमा गणना गरी म्याचुरिटीपश्चात् एकमुष्ट रकम प्राप्त गर्नेछन् । कम्पनीले दिने सु्विधा तथा बोनसको आधारमा बीमा गराउँदा बीमितलाई फाइदा हुने बीमा विज्ञहरुको भनाइ छ । 

जीवन बीमा कम्पनीले बीमितलाई भुक्तान गर्ने प्रतिफललाई नै बोनसदर भनिन्छ । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष प्रतिहजारमा बोनसदर निर्धारण गर्नेछन् । कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरुलाई वितरण गरिन्छ, भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था रहेको छ । 
कुन कम्पनीमा कति छ, बोनस रेट ? 
जीवन बीमा कम्पनीहरुले विभिन्न बीमालेखमा बीमा अवधिअनुसार बोनस रेट तोकेका हुन्छन् । जति धेरै बीमा अवधि उति नै धेरै बोनस प्राप्त हुने सम्भावना रहन्छ, भने जति कम अवधिको बीमा उति नै थोरै बोनस प्राप्त हुन्छ ।

साथै बीमा कम्पनीको योजनाअनुसार समेत बोनसदर फरक पर्न जान्छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुका लागि प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेकोछ । कम्पनीले बीमालेख र अवधिमा विभिन्न बोनसदर निर्धारण गरेको छ । त्यस्तै, मेट लाइफ इन्स्योरेन्सले पनि न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

साथै साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनी हाल मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स भइसकेपनि आर्थिक वर्ष २०७८/७९ को आधारमा बीमितहरुलाई उक्त बोनस वितरण गर्नेछ । त्यस्तै, साविक गुराँस लाइफ इन्स्योरेन्सले पनि बीमितहरुका लागि न्यूनतम प्रतिहजार ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि आफ्ना बीमितहरुको लागि न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसरेट निर्धारण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पनि बीमितहरुको लागि न्यूनतम ४४ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पनि बीमितहरुको लागि न्यूनतम प्रतिहजार २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यता सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितहरुका लागि न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

साथै साविक सूर्या लाइफ इन्स्योरेन्सले आफ्ना बीमितको लागि न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ,  भने साविकको ज्योति लाइफ इन्स्योरेन्सले पनि आफ्ना बीमितहरुको लागि न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । साविक सूर्या लाइफ र ज्योति लाइफ गत वर्षमा मर्ज भई ‘सूर्यज्योति लाइफ’को नामबाट व्यवसाय गरेतापनि आर्थिक वर्ष २०७८/७९ को लागि साविकका कम्पनीहरुले आ–आफ्नै बीमितलाई छुट्टाछुट्टै बोनस निर्धारण गरेका छन् ।

त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रतिहजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यता, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको लागि न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । साथै  एलआईसी नेपाल इन्स्योरेन्स कम्पनीले न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका साविकका कम्पनीहरु सानिमा लाइफ र रिलायन्स लाइफले छुट्टाछुट्टै बोनसदर सार्वजनिक गरिसकेका छन् ।

सानिमा लाइफ इन्स्योरेन्सले बीमितहरुको लागि न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ भने रिलायन्स लाइफले बीमितहरुका लागि न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

साथै साविक प्रभु लाइफ इन्स्योरेन्सले न्यूनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म र साविक महालक्ष्मी लाइफ इन्स्योरेन्सले न्यूनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । 

हालसम्म १७ वटा कम्पनीले बोनसदर सार्वजनिक गरेका छन् । मर्जपछि १४ वटा जीवन बीमा कम्पनी भएतापनि मर्जअघिका १९ जीवन बीमा कम्पनीले आफ्ना बीमितहरुका लागि आर्थिक वर्ष २०७८/७९ को लागि छुट्टाछुट्टै बोनसदर सार्वजनिक गर्नुपर्दछ ।

कम्पनीहरुले बोनसदर सार्वजनिक गरेको आधारमा न्यूनतम र अधिकतम मात्रै बोनसदर लेखिएको छ, तर बीमालेख र अवधिको आधारमा छुट्टाछुट्टै बोनस रेट फरक पर्न आउँछ । बीमितहरु आफैंले कम्पनीको वेबसाइटमार्फत पनि बोनसदरको जानकारी लिन सक्नेछन् ।