काठमाण्डौ । बीसवटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७९-८० को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

सार्वजनिक भएका वित्तीय विवरणमा सेयर बजारका लगानीकर्ताका लागि चासोको विषय बन्ने गरेका मुख्य सूचकहरुमा लाभांश क्षमता प्रमुख हो । वित्तीय विवरणमा देखिएको लाभांश क्षमताका आधारमा कुन बैंकले कति लाभांश बाँड्नसक्छन् भन्ने कुरा देखिने भएकोले सोही आधारमा लगानीकर्ताले कम्पनीका सेयरहरुमा खरीदबिक्रीको निर्णय गर्ने गर्दछन् । 

लगानीकर्ताले त्यसपछि ती कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) हेर्छन भने पछिल्लो समय चासोको विषय बनेको खराब कर्जाको अनुपात पनि हेरिने गरिन्छ । आर्थिक मन्दीका कारण प्राय सबै बैंकहरुको खराब कर्जा ह्वात्तै बढेको देखिन्छ । केही बैंकको खराब कर्जा चमात्कारिक ढंगले निकै कम देखिन्छ भने कतिपयको अचाक्ली बढेको ।

यस्तै, लगानीकर्ताहरुले कुन बैंकले कति पूँजी परिचालन गरेर कति नाफा कमाए भन्ने कुरा पनि चासोको विषय हुने गर्छ । 
यी मुख्य चारवटा सूचकहरुलाई यहाँ विश्लेषणको कोशिश गरिएको छ । 

लाभांश क्षमता
लाभांश क्षमतामा सबैभन्दा अगाडि एभरेष्ट बैंक देखिएको छ । यो बैंकले समीक्षा अवधिका लागि लगानीकर्तालाई ४१ प्रतिशतसम्म लाभांश बाँड्नसक्छ । 

एनआइसी एशिया बैंकले ३१.९९ प्रतिशत लाभांश बाँड्नसक्ने देखिन्छ । यो बैंकले टाइट पूँजीकोष अनुपातका कारण गत वर्ष पनि लाभांश बाँड्न पाएको थिएन । 

लाभांश क्षमतामा स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि माथि देखिएको छ । यो बैंकले २८ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिन्छ।

डबल डिजीटमा लाभांश बाँड्नसक्ने बैंकहरुमा कृषि विकास बैंक(१९.८९), सानिमा बैंक(१७.७३), माछापुच्छ्रे बैंक(१५.२९), नवील बैंक(१४.६४), नेपाल एसबीआई बैंक(१३.९३) र राष्ट्रिय वाणिज्य बैंक(११.५९) रहेका छन् । यीमध्ये राष्ट्रिय वाणिज्य बैंकको नेप्सेमा कारोबार हुँदैन । 

२० वाणिज्य बैंकमध्ये खराब कर्जा ह्वात्तै बढेर प्रभिजनको रुपमा ठूलो रकम छुट्याउनुपर्दा हिमालयन बैंकको लाभांश क्षमता ऋणात्मक बनेको छ भने प्राइम कमर्सियल बैंक, प्रभू बैंक, एनआइएमबी तथा कुमारीको अवस्था केही खस्किएको छ । तर, यी बैंकहरुले यो वर्ष आकर्षक लाभांश बाँड्न नसके पनि प्रभिजनको रुपमा राखिएको पैसा सम्बन्धित लोन रिकभर भएपछि नाफाकै रुपमा फिर्ता आउने हुँदा आगामी वर्ष लगानीकर्ताले आकर्षक लाभांश पाउने सम्भावना चाहि जिवितै छ । 

इपीएस
प्रतिसेयर आम्दानीमा एनआइसी एशिया ४०.२२ रुपैयाँसहित सबैभन्दा अगाडि छ । 

स्ट्याण्डर्ड चार्टर्डको ३७.३९ रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको ३१.७२ रुपैयाँ रहेको छ । 

कुमारी बैंकको सबैभन्दा दयनीय ७.४६ रुपैयाँ रहेको छ । (बाँकी टेबलबाट हेर्नुहोला)

खूद नाफा
खूद नाफा आर्जनको कोणबाट हेर्दा सबैभन्दा अगाडि नवील बैंक देखिएको छ । यो बैंकले आर्थिक वर्ष २०७९ ८० मा ७५२ करोड खूद नाफा कमाएको छ । 

दोश्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकको खूद नाफा ७२५ करोड रहेको छ । 

राष्ट्रिय वाणिज्य बैंक ४९१ करोडसहित तेश्रो स्थानमा छ भने ४६५ करोडसहित एनआइसी एशिया चौथो, ४२९ करोडसहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पाँचौ स्थानमा छन् ।

मर्जरमा नगएका माछापुच्छ्रे बैंक, सिद्धार्थ, सानिमा, सिटिजन्स बैंक, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड लगायतको खूद मुनाफालाई पनि नजरअन्दाज गर्न मिल्दैन । चुक्तापूँजी कम भएका यी बैंकहरुले कमाएको नाफा हेर्दा सन्तोषजनक देखिन्छ । 

विस्तृत विवरण माथिको टेबल तथा लाभांश क्षमता तलको चार्टमा हेर्नुहोस् ।