काठमाण्डौ । बैंक तथा बित्तीय संस्था कति सफल र स्वस्थ छन् भन्ने कुराको मापनको आधार के होला ? यसको सहज उत्तर हो, ६ महत्वपूर्ण सूचक, जसले कुनै पनि बैंक तथा बित्तीय संस्था कति स्वस्थ छ भनेर आँकलन गर्न सकिन्छ । ती ६ चिज  हुन : पूँजी पर्याप्तता, सम्पत्तिको गुणस्तर, व्यवस्थापन, आम्दानी, तरलता र बजार जोखिम । यी ६ चिजमध्ये अधिकांश सूचक राम्रो भए पनि जोखिम बढिरहेको छ भने त्यस्ता संस्थाहरुलाई राम्रो मानिँदैन । 

नेपालमा पछिल्लो समय हेर्ने हो भने बैंकहरुले मुख्य व्यवसायलाई बढाए, खूद नाफा, संचालन नाफामा बढोत्तरी गरे, प्रति सेयर आम्दानी बढाए, मूल्य–आम्दानी अनुपात घटाए भने त्यस्ता संस्थाहरु प्रगतिउन्मुख मान्न सकिन्छ । निक्षेप संकलनमा सुधार गरी कर्जा प्रवाहमा समेत अब्बल साबित भए भने अझ राम्रो मानिएला । तर यी सूचकहरुसँगै कुनै पनि बैंकको निस्क्रिय कर्जा दर(एनपीएल) कुन अवस्थामा छ भन्ने कुराले पनि निकै ठूलो महत्व राख्छ । जसको निस्क्रिय कर्जा बढी छ, त्यसको स्वास्थ्य राम्रो मानिँदैन । 

अतः नेपालका २८ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७२/७३ को बित्तीय विवरण सार्वजनिक गरिसकेका छन्  । योसँगै सबै बैंकहरुको निस्क्रिय कर्जा दरमा भएको घटबढको परिणाम समेत आइसकेको छ । हेरौं, अघिल्लो आर्थिक वर्षको तुलनामा कुन वाणिज्य बैंकले एनपीएल बढाए वा घटाए, त्यसमा के कति सुधार गरे  : 

१२ बैंकको १ प्रतिशतभित्र
२८ वाणिज्य बैंकहरुको बित्तीय विवरण सरसर्ती अध्ययन गर्दा आर्थिक वर्ष २०७२ ७३ अवधिमा १२ बैंकहरुको निस्क्रिय कर्जा दर १ प्रतिशतभन्दा तल देखिएको छ । सबैभन्दा कम एनपीएल सानिमा बैंकको ०.०२ प्रतिशत रहेको छ । यो बैंकको अघिल्लो आर्थिक वर्षको एनपीएल ०.०७ प्रतिशत थियो । 

यसैगरी, एनपीएल दरमा सुधार गरेका वाणिज्य बैंकहरुमा नेपाल एसबीआई बैंक(०.१९ बाट ०.१४ प्रतिशत), सेञ्चुरी बैंक(०.२७ बाट ०.२४) रहेका छन् । स्ट्याण्डर्ड चार्टर्डको ०.२८ बाट बढेर ०.३२ प्रतिशत पुगेको छ भने एभरेष्ट बैंक(०.६६ बाट ०.३८), माछापुच्छे बैंक(०.६४ बाट ०.५५), नेपाल इन्भेष्टमेन्ट बैंक(१.२५ बाट ०.६८),  नेपाल बंगलादेश बैंकले(१.३३ बाट ०.७१ प्रतिशत) कामय गरेका छन् । यसैगरी, मेगा बैंक लिमीटेड(१.७५ बाट ०.७९), लक्ष्मी बैंक(१.२७ बाट ०.८०), एनआइसी एशिया बैंक(२.०७ बाट ०.८२) र एनसीसी बैंकले(१.९३ बाट ०.९० प्रतिशत) एनपीएल कायम गरेका छन् । 

१० बैंकको २ प्रतिशतभित्र
कुल वाणिज्य बैंकमध्ये १० बैंकको एनपीएल दर १ देखि २ प्रतिशतको बीचमा कायम हुन पुगेको छ । यस्ता बैंकहरुमा कुमारी बैंक(२.७६ बाट १.११ प्रतिशत), नवील बैंक(१.८२ बाट १.१४), जनता बैंक नेपाल(१.८६ बाट १.१५), हिमालयन बैंक(३.२२ बाट १.२३), प्राइम कमर्सियल बैंक(१.७५ बाट १.२३), सनराइज बैंक(२.९० बाट १.२४ प्रतिशत) रहेका छन् ।

यसैगरी, सिटिजन्स बैंकले १.५३ प्रतिशतको एनपीएललाई १.३१ मा झारेको छ भने सिद्धार्थ बैंकले १.८० बाट १.४१ मा झर्दा एनएमबी बैंकको पनि बढेको छ । गत आबमा ०.४२ प्रतिशत रहेको एनएमबीको एनपीएल यो वर्ष १.७४ प्रतिशत पुगेको हो । ग्लोबल आइएमई बैंकले गत आबको २.१९ प्रतिशतको निस्क्रिय कर्जा दरलाई घटाएर १.८७ मा झारेको छ । 

२ प्रतिशतमाथि एनपीएल हुने बैंक 
बैंक अफ काठमाण्डौको एनपीएल २ प्रतिशत भन्दा माथि छ । आब ०७१ ७२ मा ३.४७ प्रतिशत रहेको एनपीएल यो बैंकले आब ०७२ ७३ मा घटाएर २.२५ प्रतिशतमा झारेको छ । यसैगरी, सिभिल बैंकले ३.२० बाट २.७०, नेपाल बैंकले ३.९५ बाट २.७२, कृषि विकास बैंकले ५.३५ बाट ३.८५ प्रतिशतमा झारेको छ । राष्टिय वाणिज्य बैंकको एनपीएल बढेको छ ।

अघिल्लो वर्ष ३.३८ प्रतिशतमा सीमित एनपीएल यो बैंकले बढाएर ३.९५ मा पुगेको छ । प्रभू बैंकको एनपीएल पनि ७.३९ बाट बढेर ८.३८ प्रतिशत पुगेको छ । खराब कर्जा थुप्रिएको ग्राण्ड बैंक खरीद गरेका कारण प्रभूको एनपीएल बढेको हो ।