काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले ललितपुरको कुपण्डोलमा शाखा बिस्तार गरेको छ । 

बिहीबार एक कार्यक्रमका बीच कुपण्डोल शाखाको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय समुद्घाटन गर्दै महर्जनले बैंकिङ्ग कारोवार सहज र सरल हुनुपर्नेमा जोड दिए । 

मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकैसाथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भनी शुभकामना दिए । 

कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले स्वागत र यस विकास बैंकका ब्राण्ड एम्बेसडर सीताराम कट्टेल( धुर्मुस), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । 

यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए । 

त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डौ उपत्यकाभित्र कुपण्डोललगायत महाराजगञ्ज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहिल, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमा आइसकेका छन् भने इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको छ ।