काठमाडौं। जनता बैंक नेपाल लिमीटेडबाट बाहिरिएका बैंकर कुमार लम्सालको बैंकिङ उद्योगमा कमब्याक भएको छ ।
विभिन्न वाणिज्य बैंक लामो समय प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरी केही समयदेखि बैंकिङ क्षेत्रभन्दा बाहिर रहेका लम्साल नेशनल बैंकिङ इन्स्टिच्यूटको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
एनबीआईले विगत केही समयदेखि बैंकका कर्मचारीलाई तालिम दिंदै आएको छ । नेपाल राष्ट्रबैंकको समेत लगानी रहेको यो संस्थालाई बैंकका लागि आवश्यक दक्ष कर्मचारी उत्पादन गर्ने प्रतिष्ठानको रुपमा विकास गर्न खोजिएको छ । यही संस्थाका तत्कालीन सीइओ सञ्जिब सुब्बाले राजीनामा दिएपछि बैंकर लम्सालको इन्ट्री भएको हो।
एनबीआईका अनुसार लम्साललाई सोमबारदेखि नै लागू हुने गरी सीइओमा नियुक्त गरिएको छ ।
लम्सालसँग २ दशक भन्दा लामो बैंकिङ अनुभव छ । उनले प्रभू बैंक, सानिमा बैंक, जनता बैंक नेपाल लगायतका वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्था हाँकेको अनुभव पनि छ ।
दक्ष बैंक कर्मचारी उत्पादनको लक्ष्यका साथ स्थापना गरिएको एनबीआईले भने हालसम्म ५० हजारको हाराहारीमा कर्मचारी उत्पादन गरिसकेको दाबी गरिएको छ ।
यो संस्थामा केन्द्रीय बैंकसँगै अन्य विभिन्न बैंक तथा वित्तिय संस्थाको समेत लगानी रहेको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा दक्ष कर्मचारी अभावको समस्या चर्किरहेको बेला लम्सालको इन्ट्रीपछि यो संस्था अझ बढी आक्रामक भई बैंकिङमा देखिएको सो समस्या समेत न्यून हुने आशा गरिएको छ । पछिल्लो समय केन्द्रीय बैंकले समेत बैंक तथा वित्तीय संस्थाहरुलाई कर्मचारीलाई दक्ष बनाउन बारम्बार निर्देशन दिंदै आएको छ । कर्मचारीको वृतिविकास तथा दक्षता वृद्धिका लागि खूद नाफाको निश्चित प्रतिशत खर्च गर्नैपर्ने बाध्यकारी व्यवस्था समेत भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19