काठमाण्डौ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका अधिकांश मुलुक लकडाउनमा छन् । यस्तो अवस्थामा दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बनेको छ । विशेष गरी निर्माण कार्यमा दैनिक ज्याला मजदुरी गर्नेहरु भोकै पर्ने अवस्था सिर्जना भएको छ । 

नेपालमा समेत निर्माण क्षेत्रमा कार्यरत लाखौं मजदूरको अवस्था दयनीय बन्दै गएको छ । यो विषयमा नेपाल सरकारले खासै चासो दिएको छैन । तर, जनताको पीरमर्का बुझ्ने नेता सत्तामा पुगेका ठाउँमा भने त्यस्ता मजदूरहरु भोकभोकै पर्ने अवस्था आएको छैन । टाढा जानै पर्दैन, भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनमा कामविहीन भई हातमुख जोड्न नै धौ धौ परी समस्यामा परेका निर्माण क्षेत्रका मजदूरहरुका लागि निकै ठूलो राहातको घोषणा गरेका छन् । 

केजरीवालले दिल्लीमा निर्माण क्षेत्रमा संलग्न सबै कामदारलाई ५ हजार भारुका दरले राहात दिने घोषणा गरेका छन् । 

केही समयअघि उनले ७२ लाख बढीलाई मासिक ७.५ केजी रासन निःशुल्क गरिदिने घोषणा गरेका थिए । जेष्ठ नागरिक र अशक्तको प्रोत्साहन भत्ता दोब्बर पार्ने समेत घोषणा गरेका उनले दिल्लीका रात्रिकालीन सेन्टरमा आश्रय लिने घरबारविहीनहरुलाई खाना समेत फ्रि गरिदिने घोषणा गरिसकेका छन् । 

केजरीवालले लकडाउनका कारण दिल्लीमा समेत कफ्र्यू जस्तो अवस्था रहेको र यस्तो बेलामा निर्माण क्षेत्रमा कार्यरत मजदूरको रोजीरोटी खोसिएको बताउँदै यस्तो राहात प्याकेज ल्याइएको बताएका छन् । 

केजरीवालले भनेका छन्-'तपाईहरुलाई साच्चिकै गाह्रो भइरहेको होला भन्ने कुरा म महसुस गर्न सक्छु । तपाईहरुको यो दुःख पूर्ण रुपमा खत्तम गर्न हामी सक्दैनौ, तर पूर्ण रुपमा कोशिश गरिरहेका छौ कि तपाईको दुःखलाई कसरी कम गर्न सकियोस् । तपाई सबैको जीवन बचाउन अत्यावश्यक छ, यहीकारण यति कठोर कदम उठाइएको हो । मलाई साह्रै खुशी लागेको छ कि धेरै मानिसहरु यसबेला एकअर्कालाई खुलेर सहयोग गरिरहेका छन् । यही नै हामी भारतका मानिसहरुको सबैभन्दा ठूलो तागत हो ।' 

दिल्लीमा ४ लाख भन्दा बढी निर्माण मजदूर रजिष्टर्ड छन् । राज्य सरकारले दिने भनेको पैसा सिधा उनीहरुको बैंक खातामा जानेछ ।