काठमाण्डौ । विश्वमा एउटा उखान छ,‘अमेरिकाले हाछँयू गर्दा बाँकी विश्वलाई रुघा लाग्छ’ ।
तर चीन बिसञ्चो भयो भने के हुन्छ ? विगत केहि समयदेखि चीनको अर्थतन्त्रमा बिरामीका लक्ष्यणहरु देखिन थालेका छन् । 

धनी देशको सूचीमा अग्रस्थानमा रहेको चीन करिब तीन दशक अघिसम्म गरिबीमा लिप्त थियो । विश्व बैंकको आकँडा अनुसार करिब ३० वर्ष पहिले चीनको ७० प्रतिशतभन्दा बढी जनसंख्या गरिबीमा थियो। तर अहिले अवस्था फेरिएको छ । यो अवधिमा चीनले आफ्नो अर्थव्यवस्थामा निक्कै फड्को मारिसकेको छ ।

यसबीचमा चीनले पूर्वाधारको क्षेत्रमा ठूलो मात्रामा लगानी गरेको छ । अहिले चीन उत्पादन क्षेत्रको ग्लोबल हब बनेको छ । मध्यम वर्गका जनताको दायरा विस्तार भएको छ । सन् २ हजारको दशकको सुरुवातमा चीनमा करिब ३ प्रतिशत जनसंख्या मात्रै मध्यम वर्गमा पर्दथे । जुन अहिले ५० प्रतिशतभन्दा बढी पुगेको छ । 

तर अहिले चीनको अर्थतन्त्रमा सुस्तता छाएको छ । निजी क्षेत्रमा लगाइएको अंकुश,बढ्दो बेरोजगारी र जिडिपी वृद्धिमा कमी जस्ता कारणले चीनको अर्थतन्त्र सुस्त बनेको छ ।

विश्व अर्थतन्त्रमा ग्लोबल लिडरको छबि बनाएको चीनको अर्थतन्त्रमा समस्या उत्पन्न भए विश्व अर्थतन्त्र नै धरासायी बन्ने जोखिम बढेको छ । 

चीनको अर्थतन्त्रमा समस्या देखिनुका कारणहरु के हुन त  ?

१.निजी क्षेत्रमाथि कडाई

चीनले बितेका केहि वर्षदेखि निजी क्षेत्रलाई कस्दै गइरहेको छ । उसले विशेष गरेर निजी लगानी रहेका रियल स्टेट,प्रविधि,ई–कमर्स,फिन टेक र रियल स्टेट जस्ता क्षेत्रमाथि निसाना साँधिरहेको छ । कम्युनिष्ट पाटीले निजी क्षेत्रमाथि नियन्त्रण कायम गर्न कम्पनीहरुमा गोल्डेन सेयरको माग गरिरहेका छन् । बैंकहरुले सरकारी लगानीका कम्पनीहरुलाई प्राथिमिकता दिने भएकाले निजी लगानीका कम्पनीहरुले समेत कर्जा पहुँचमा समस्या भोगिरहेका छन् । 

२. आर्थिक सुस्तता 

बढ्दो बेरोजगारीलाई लुकाउन चीन सरकारले यस वर्ष यसको आँकडा जारी गर्न बन्द गरेको छ । बेरोजगारीको समस्यालाई सम्बोधन गर्न राज्यस्तरबाट केहि प्रयासहरु गरिएका छन् । तर पनि यसले खासै फरक परेको देखिदैन । राष्ट्रपति सि चीनफिङले केहि समयअघि चीनको आर्थिक पुनरुत्थान नाजुक अवस्थामा रहेको पनि स्वीकारेका छन् ।


त्यस्तै विश्वमा बृद्धि भइरहेको महंगीले चिनीयाँ सामग्रीको मागमा कमी आइरहेको छ । देशको कुल ७० प्रतिशत सम्पत्ति रियल स्टेट क्षेत्रमा लगानी रहेको चीनको रियल स्टेट क्षेत्र पनि समस्याग्रस्त छ । जसका कारण अर्थतन्त्रका अन्य क्षेत्र प्रभावित बनिरहेका छन् । 

३.उत्पादन बृद्धिमा सुस्ती
चीन विश्वको सबैभन्दा ठूलो उत्पादन भएको अर्थतन्त्र हो ।उत्पादनको बलमा नै चिनले आफ्नो ठूलो जनसंख्यालाई गरिबीको दलदलबाट बाहिर निकालेको थियो । अहिले  चीनको उत्पादनमा कमी आएको छ । सन् २०२० मा चीनको जीडीपीमा उत्पादन क्षेत्रको हिस्सा घटेर २६ प्रतिशत पुगेको थियो । जुन एक दशक अघिसम्म ३१ प्रतिशत थियो ।

४.सबैभन्दा ठूलो निर्यातकर्ता 

चीन विश्वको सबैभन्दा ठूलो निर्याकर्ता हुनुका साथै धातुहरु तथा अन्य कयौं वस्तुहरुको सबैभन्दा ठूलो उपभोक्ता पनि हो । विश्वमा खपत हुने धातुको करिब आधि हिस्सा चीन एक्लैले उपभोग गर्छ । यस्तो अवस्थामा चीनको अर्थतन्त्रमा देखिएको समस्याले विश्वभर धातुहरुको माग आपूर्ती सन्तुलन र श्रृंखलालाई प्रभाव पार्ने देखिन्छ ।    -एजेन्सीको सहयोगमा