काठमाण्डौ । अमेरिकी सेयर बजारको नियामक ‘यूएस सेक्युरिटिज् एन्ड एक्सचेन्ज कमिसन’ ले इन्भेस्टमेन्ट एड्भाइजर जीपीबी होल्डिङ्स र यसका तीनजना सञ्चालकलाई १७ हजारभन्दा बढी लगानीकर्तालाई ठगी गरेको आरोपमा मुद्दा लगाएको छ।
नियामकले जीपीबी होल्डिङ्स र सञ्चालकहरुले पोन्जी स्किममार्फत १.७ बिलियन अमेरिकी डलर ठगेको आरोपमा मुद्दा लगाएको हो। जीपीबी होल्डिङ्सका मालिक तथा सीईओ डेभिड जेन्टिल, जीपीबी क्यापिटल प्लेसमेन्ट एजेन्टका मालिक जेफ्री स्निडर र जीपीबी क्यापिटलका पूर्वम्याजेनिङ डाइरेक्टर जेफ्री ल्यासलाई लगानीकर्ताको पैसा लगानी गर्नुको साटो मासिक लाभांश प्रदान गर्न प्रयोग गरिएको भन्ने आरोप लगाइएको हो।
लगानीकर्तालाई उनीहरुको ८ प्रतिशत मासिक वितरण कम्पनीको पोर्टफोलियोको मुनाफाबाट कभर गरिने बताइएको थियो। तर वास्तविकतामा लगानीकर्तालाई नयाँ लगानीकर्ताको पैसाबाट आंशिक भुक्तानी गरिएको थियो।
आरोपीहरुले हुँदै नभएको आम्दानी देखाउनका लागि फर्जी वित्तीय वितरण बनाएर ब्याक डेटेड पर्फमेन्स ग्यारेन्टी सिर्जना गर्ने गरेको थिए। तर जीपीबीले भने लगानीकर्ताको पैसालाई व्यवस्थापन गर्दा राम्रो नियतले काम गरेको दाबी गरेको छ। जीपीबीले कम्पनीमाथि लगाइएको आरोप झुठो भएको र यसविरुद्ध अदालतमा प्रतिकार गर्ने जनाएको छ।
गत बिहीबार न्युयोर्क राज्यले समेत जीपीबीविरुद्ध मुद्दा दायर गरेको थियो। न्युयोर्कका एटोर्नी जनरल लेटिटिया जेम्सले जीपीबी र यसका तीनजना सञ्चालकविरुद्ध ७०० मिलियन अमेरिकी डलरभन्दा धेरै ठगी गरेको आरोपमा मुद्दा दायर गरेको छ।
राम्रो मासिक लाभांश वितरण गरिने प्रलोभनमा न्युयोर्क राज्यका १४ सयभन्दा बढीले जीपीबीमा १५० मिलियनभन्दा धेरै लगानी गरेका थिए। यसका साथै लगानीकर्ताको लगानीको गलत उपयोग गरिएको भन्दै समेत मुद्दा लगाइएको छ। लगानीकर्ताको पैसा निजी हवाईवहाज किन्न, भ्रमण गर्न परिवार र आफ्नो निजी खातामा जम्मा गर्न प्रयोग गरिएको आरोप लगाइएको छ।
जीपीबी होल्डिङ्सका मालिक तथा सीईओ डेभिड जेिन्टललाई लगानीकर्ताको पैसाले फेरारी कार खरिद गरेकोसम्म आरोप लगाइएको छ।
के हो पोन्जी स्किम ?
पोन्जी स्किम ठगीको स्वरुप हो। जसबाट लगानीकर्तालाई राम्रो लाभांश प्रदान गर्ने प्रलोभन दिइने गरिन्छ। यो स्किममा पहिलेका लागनीकर्तालाई भर्खरै आएका लगानीकर्ताले लगानी गरेको पैसा मुनाफाको रुपमा दिइन्छ। लगानीकर्तालाई यो मुनाफा प्रडक्ट बिक्री गरेर र अन्य माध्यमबाट आएको हो भन्ने विश्वास दिलाइन्छ र लगानीकर्ता आफूले पाएको रकम अन्य लगानीकर्ताको हो भन्नेबारे अनविज्ञ हुन्छन्।
अमेरिकामा सन् १८८० को दशकमा पहिलोपटक पोन्जी सिक्मको ठगी देखिएको थियो। त्यतिबेला साराह होई नामक एक महिलाले ‘लेडिज डिपोजिट’ नामक स्किम ल्याएकी थिइन्। उनले यो स्किम महिलालाई मात्रै दिने गर्थिन्। उनले मासिक ८ प्रतिशत ब्याजदर दिने प्रलोभन दिई महिलाबाट रकम जम्मा गर्ने गर्थिन्। यसरी जम्मा गरेको रकम लिएर उनी फरार भइन्। पछि उनलाई पक्राउ गरेर ३ वर्ष जेल चलान गरिएको थियो।
अमेरिकामा सन् १९२० मा चाल्र्स पोन्जी नामक एक व्यक्तिले यो स्किम ल्याएका थिए र उनले ठगी गरेको रकमका कारण उनी अमेरिकाभर चिनिएका थिए। उनको सुरुको वास्तविक स्किम इन्टरनेसनल रिप्लाई कुपनमा आधारित थियो। तर उनले विस्तारै नयाँ लगानीकर्ताको पैसा पुराना लगानीकर्ता प्रदान गर्न प्रयोग गर्न थाले। उनले लगानीकर्ताको पैसा आफूसमेत प्रयोग गर्ने गर्थे। उनको यो स्किम असफल भएपछि अमेरिकाभर र अमेरिकाबाहिर समेत उनको चर्चा हुन थाल्यो।
यस्तै प्रकारको पहिलेका स्किममा भने यस्तो चर्चा हुने गरेको थिएन। पछि उनकै नामबाट यस्ता खाले स्किमको नाम पोन्जी स्किम रहन गयो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19