काठमाण्डौ । बेलायतको ब्रोकरेज फर्म बार्कलेजले वित्त वर्ष २०२२ मा भारतको विकास दरको अनुमान घटाएको छ। 

बार्कलेजले यसअघि गरिएको भारतको विकास दर ०.८२ प्रतिशत घटाउँदै ९.२ प्रतिशतमा झर्ने अनुमान गरेको हो। कोरोनाको दोस्रो लहरका कारण परेको आर्थिक प्रभावका कारण भारतको विकास दर घट्ने बार्कलेजले प्रक्षेपण गरेको छ। 

बार्कलेजका चिफ इन्जिया इकोनोमिस्ट राहुल बाजोरियाका अनुसार खोप अभियानको रफ्तारमा सुस्तता र अधिकांश राज्यमा लकडाउन लगाउनुका कारण विकास दरको अनुमानमा कमी गरिएको हो। 

यसअघि रिभर्ज बैंक अफ इन्डियाले रियल जीडीपीमा १०.५ को वृद्धि हुने अनुमान लगाएको थियो। गत महिना भने अधिकांश एनालिस्टहरुले विकास दर ८.५ प्रतिशतदेखि १० प्रतिशतभन्दा थोरै माथि हुने अनुमान लगाएका थिए। 

गत वर्ष भारतको अर्थ व्यवस्थामा ७.५ प्रतिशतको गिरावट आएको थियो।

बाजोरियाले भारतमा कोरोना संक्रमणको मामिला घट्न थाले पनि नियन्त्रणका लागि विभिन्न राज्यमा लगाइएको लकडाउनले अर्थव्यवस्थामा निकै प्रभाव पारेको बताए। ‘यही कारण हामीले वित्त वर्ष २०२१/२२ मा विकास वृद्धिदर अनुमान ०.८२ प्रतिशतले घटाएर ९.२ हुन सक्ने अनुमान गरेका छौँ’, उनले भने। 

बाजोरियाले अहिले स्थिति नियन्त्रण उन्मुख रहेका कारण अर्थव्यवस्थामा विस्तारै सुधार हुँदै जाने बताए। ‘हामीलाई विश्वास छ कि जुनको अन्त्यतिरबाट लकडाउनजस्ता प्रतिबन्धहरु हटाइनेछ’, उनले भने, ‘सन् २०२१ को दोस्रो त्रैमास (अप्रिल–जुन) मा ७४ बिलियन डलरको नोक्सानी हुनेछ।’

त्यसो त बार्कलेजले कोभिडको तेस्रो लहर आएमा अर्थव्यवस्थामा नराम्रो झट्का लाग्ने अनुमान पनि गरेको छ। ‘यदि तेस्रो लहर आयो भने भारतमा ८ साता लकडाउन लगाउनुपर्ने स्थिति आउन सक्छ’, बार्कलेजले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यसले आर्थिक वृद्धिदर घटेर ७.७ प्रतिशतमा झर्न सक्छ।’ – एजेन्सी