काठमाण्डौ । फेरि तीव्रगतिमा फैलिन थालेको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण लगानीकर्ता निराश बन्दा मंगलबार चिनियाँ सेयर बजारमा भारी गिरावट आउनुका साथै युआनको कारोबार १७ महिनायताकै न्यून विन्दुमा भएको छ। 

मंगलबार चिनियाँ मुद्रा युआन १ अमेरिकी डलरबराबर ६.५७ मा कारोबार भयो। जुन सन् २०२० नोभेम्बरपछिकै कम हो। सांघाई कम्पोजिट इन्डेक्स १.४ प्रतिशतले घटेको छ। सन् २०२१ सेप्टेम्बरपछि सांघाई कम्पोजिट इन्डेक्समा २२ प्रतिशतको गिरावट आइसकेको छ। 

बेइजिङमा कोरोना संक्रमण वृद्धि भएपछि सांघाईजस्तै अन्य सहरहरु पनि लकडाउन हुने भयले गत साता युआनको मूल्य डलरको तुलानामा ३ प्रतिशतले घटेको थियो। 

चीन सरकारले शून्य कोभिड नीतिलाई कडाइसाथ लागू गरेपछि र रुस–युक्रेनसँग सम्बन्धित जोखिमहरुका कारण विगतका केही महिनादेखि चीनबाट ठूला टेक कम्पनी, निजी कम्पनी, रियल स्टेट कम्पनी र ठूला विदेशी लगानीकर्ता बाहिरिएका छन्। 

बितेको दुई महिनामा चिनियाँ मुद्रा युआनको मूल्यमा भारी गिरावट आएको छ। जब कि गत वर्ष कोरोना महामारीको बेला चिनियाँ मुद्रा विश्वकै शक्तिशालीमध्ये एक थियो। 

चीन सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरेको कडा नियमहरुका कारण मुद्राको मूल्यमा भारी गिरावट आएको हो। कोरोना नियन्त्रण गर्न चीनको उत्पादन तथा आर्थिक केन्द्रका रुपमा रहेको सांघाई एक महिनादेखि लकडाउनमा रहेको छ। जसका कारण व्यवसायहरु बन्द हुनुका साथै विश्वको आपूर्ति शृंखलासमेत प्रभावित बनेको छ। 

यस्तै चिनियाँ सेयर बजारले यो वर्ष विश्वकै खराब प्रदर्शन गरेको छ। सेन्जन कम्पोजिट वर्षको सुरुआतदेखि ३१ प्रतिशतले घटिसकेको छ। यो वर्ष सेबैभन्दा धेरै गिरावट रुसी सेयर बजारमा आएको छ। वर्षको सुरुआतदेखि अहिलेसम्म रुसको सेयर बजार ४२ प्रतिशतले घटेको छ। 

यसैगरी सांघाई कम्पोजिट पनि २१ प्रतिशतले घटिसेकेको छ। 

चीन सरकारले बिग्रिँदो अर्थतन्त्रलाई सम्हाल्न बैंकहरुले कायम गर्नुपर्ने विदेशी मुद्राको सञ्चिती ९ प्रतिशतबाट घटाएर ८ प्रतिशत कायम गरेको छ। यो कदमले बजारमा डलरको आपूर्ति बढ्ने र युआनको तीव्र गिरावटमा कमी आउने विश्लेषकहरुले बताएका छन्। – एजेन्सी