काठमाण्डौ । कोरोना महामारीका कारण सन् २०२२ सम्म २०.५ करोड मानिसको रोजगारी गुम्ने सक्ने प्रक्षेपण गरिएको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रक्षेपण गरेको हो। आईएलओले रोजगारीको अवस्था सामान्य पार्न वर्षौं लाग्न सक्ने पनि जनाएको छ। 

आईएलओका निर्देशक गाय राइडले महामारीको हालको अवस्थासम्म करोडौँ मानिसको रोजगारी गुमिसकेको बताए। ‘अहिलेसम्म लाखौँ मानिसका लागि रोजगारी सिर्जना हुनुपर्ने थियो तर महामारीले परिस्थिति उल्टो बनाइदियो’, उनले भने।

सन् २०२१ सम्म महामारीकै कारण ७.५ करोड मानिसको रोजगारी गुमिसकेको राइडले बताए। ‘महामारी सुरु भएयता १८.७ करोड मानिस बेरोजगार भइसकेका छन्’, उनले भने, ‘त्यसैले २०२२ सम्म यो संख्या २०.५ करोड पुग्ने हाम्रो अनुमान छ।’

महामारीकै कारण बेरोजगारी बढ्ने अवस्था सबै देशमा समान नहुने पनि राइडले बताए। ‘धनी देशहरुले छिटै बेरोजगारी समस्या हटाउन सक्लान् तर गरिब देशहरुमा यो समस्या समाधान गर्न वर्षौं लाग्न सक्छ’, उनले भने, ‘अझ गरिब देशहरुमा युवा र महिलाहरुको रोजगारीमा व्यापक असर पर्ने देखिन्छ।’

राइडले कोरोनाविरुद्धको खोपको छिटो उपलब्धकै कारण धनी देशहरुमा बेरोजगारी समस्या छिटै समाधान हुन सक्ने बताए। ‘तर कतिपय गरिब देशहरुमा अझै पनि खोपको समान उपलब्ध हुन सकेको छैन’, उनले भने, ‘यस्तो ती देशहरुमा बेरोजगारीको अवस्था भयावह हुन सक्छ।’

निर्देशन राइड बेरोजगारीकै कारण गरिब देशको गरिबी दर झनै बढ्दै जाने बताए। ‘रोजगारीको अभावकै कारण त्यस्ता देशहरुमा सामाजिक सुरक्षाको अवस्था पनि कमजोर हुन सक्छ’, उनले भने।

सन् २०१९ को तुलनामा यो वर्ष ३.१ करोड कामकाजी मानिस रोजगारी गुमेकै कारण अतिगरिब बन्न सक्ने राइड बताउँछन्। 

विश्वमा गरिबी दर घटाउन हालसम्म भएका प्रयासहरुलाई कोरोना महामारीले ५ वर्षअघिको स्थितिमा पुर्याइदिएको पनि आईएलओले जनाएको छ। – एजेन्सी