काठमाण्डौ । कोरोना भाइरसको प्रकोपका कारण विश्वको जीडीपीमा ०.४ प्रतिशतसम्मको गिरावट आउनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ । 

इकोनोमिक टाइम्सको एक रिपोर्टका अनुसार आइएचएस मार्केटले भनेको छ कि चीनका उद्योगधन्दा फेब्रुअरी अन्तसम्म यदि बन्द भए भने र मार्चको सुरुवातबाट त्यहाँबाट बिस्तारै उत्पादन सुरु भयो भने पनि २०२० को पहिलो ६ महिनामा यसको प्रष्ट प्रभाव देखिनेछ । रिपोर्टका अनुसार विश्वको जीडीपीमा २०२० को पहिलो त्रैमासमा ०.८ प्रतिशत, दोश्रो त्रैमासमा ०.५ प्रतिशतसम्मको गिरावट आउनसक्छ । यो अवस्था रह्यो भने २०२० को विश्वको जीडीपी ग्रोथमा ०.४ प्रतिशतको धक्का लाग्नसक्छ । 

सन् २००३ मा फैलिएको सार्सको प्रकोपबाट विश्वको अर्थतन्त्रमा जति नोक्सानी भएको थियो, त्यसको तुलनामा कयौं गुणा बढी नोक्सानी कोरोना भाइरसका कारण हुनसक्ने अध्ययनले देखाएको छ । सन् २००३ मा चीन विश्वको छैठो ठूलो अर्थव्यवस्था थियो । त्यो बेला विश्वको जीडीपीमा चीनको योगदान ४.२ प्रतिशतमा सीमित थियो । तर, आज चीन विश्वकै दोश्रो ठूलो अर्थव्यवस्था हो र यो देशको विश्वको जीडीपीमा  १६.३ प्रतिशत योगदान रहेको छ । यसर्थ यदि चीनमा मन्दी आयो भने विश्वको अर्थतन्त्रमा यसले सुनामीजस्तै असर पार्नेछ । 

कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्थामा मन्दी आयो भने यसले विश्वको विकास दरमा समेत नकारात्मक प्रभाव पार्नेछ । २००२ मा विश्वको विकास दरमा चीनको योगदान २३ प्रतिशत थियो । २०१९ मा भने ३८ प्रतिशत योगदान छ । 

कोरोना भाइरसका प्रकोपका कारण चीनका ११ प्रान्तले विदाको अवधि बढाइदिएका छन् । यी प्रान्तहरुमा चीनको दुई तिहाई भन्दा बढी गाडीहरुको उत्पादन हुन्छ । यदि त्यहाँका गाडी निर्माण गर्ने उद्योगहरु १० फेब्रुअरीसम्म मात्रै बन्द भए भने पनि करिब ३.५ लाख गाडीको उत्पादन हुन पाउनेछैन ।

तर, बन्द हुने अवधि फेब्रुअरी अन्तसम्मै रहने संकेत देखिँदैछ । आसपासका अन्य प्रान्तका गाडी निर्माण गर्ने प्लान्टहरु पनि बन्द भए भने पहिलो त्रैमासमा १७ लाख युनिट गाडीको उत्पादन हुनेछैन । यसको अर्थ पहिलाको तुलनामा उत्पादनको रफ्तारमा ३२.३ प्रतिशतको गिरावट आउनेछ । 

सन् २०१९ मा तेलको वैश्विक मागमा आधा योगदान चीनको मात्र छ । २००३ मा चीनको योगदान एक तिहाई मात्र थियो । २०१९ मा चीनमा कच्चा तेलको माग दैनिक १.३९ करोड ब्यारेल रहेको छ, जुन विश्व बजारकै १४ प्रतिशत हो । २००३ मा तेलको माग दैनिक ५६ लाख ब्यारेल मात्र थियो भने विश्व बजारको ७ प्रतिशत मात्र थियो । यसबाहेक चीन विश्वकै सबैभन्दा ठूलो आयातकर्ता देश पनि हो । यो देशले विश्वको कुल वस्तु आयातमा १०.४ प्रतिशतको योगदान दिन्छ । २००३ मा विश्वको कुल आयातमा चीनको योगदान ४ प्रतिशतमा सीमित थियो ।