काठमाण्डौ । विश्वकै ठूला उद्योगमध्येको एक । ५.७ ट्रिलियन डलर आकारको व्यापार । जुन क्षेत्रकै कारण विश्वभर करिब ३२ करोडले रोजगारी पाएका छन् । अझ भन्नुपर्दा १० मानिसमध्ये एकजना यो क्षेत्रमा जागिरे रहेको अवस्था । तर, यति आकर्षक यही क्षेत्र अहिले कोरोना भाइरसको संक्रमणले डामाडोल बनेको छ । 

सिएनएनका अनुसार यति ठूलो आकारमा कारोबार गर्ने र त्यति धेरै मानिस आश्रित विश्वभरको ट्राभल उद्योग(पर्यटन उद्योग)मा अहिले झट्का लागेको छ । धेरै देशहरुले नोवल कोरोना भाइरस संक्रमणको त्रासले धेरै उडानहरु रद्ध गरेका छन्, कतिपय ठाउँबाट कतिपय ठाउँसम्मका उडान अल्पकालका लागि प्रतिबन्धित समेत छन् । जसले यो क्षेत्रको विजिनेश डामाडोल बनाइदिएको छ । सुरुवाती चरणमै यति भयावह असर देखिएको यो क्षेत्र कोरोनाको प्रकोप निरन्तर रहे कुन हदसम्म ध्वस्त हुन्छ भन्ने विषय सोच्न समेत नसकिने रिपोर्टमा उल्लेख छ । 

केही विज्ञहरुलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा जनाइएअनुसार सेप्टेम्बर ११ को अमेरिकी ट्वीन टावरमा भएको आतंकवादी हमलापछि सुस्त बनेको यो क्षेत्रमा त्यसपछिकै ठूलो मन्दी अहिले देखिन थालेको हो । 

मुडिज एनलिटिक्सका प्रमुख अर्थशास्त्री मार्क ज्याण्डीले भनेका छन्–‘चरम मन्दीको सुरुवात मात्र भएको छ । धेरै प्रत्यक्ष र छिटो प्रभाव पर्ने यो क्षेत्रको भविष्य के हुने भन्ने अन्यौलको बादल मडारिएको छ ।’

यदि कोरोना भाइरसको संक्रमण यसैगरी बढ्दै गयो र विश्वभर फैलियो भने ट्राभल उद्योगको यो मन्दीले विश्व अर्थतन्त्रमै ठूलो प्रभाव पार्नसक्ने विश्लेषण समेत हुन थालेको छ । 

'विश्व अर्थतन्त्रका लागि यो उद्योग निकै अहम हो । विश्वमा यस्तो कुनै क्षेत्र वा उद्योग छैन, जसले प्रत्येक १० जनामध्ये एकजना यसैमा निर्भर छ भन्ने सकोस् । यसको अर्थ यति महत्वपूर्ण उद्योगकै अवस्था भयावह भयो भने यसले विश्व अर्थतन्त्रका पार्ने प्रभाव कति अत्यासलाग्दो होला ? तपाई आफैं सोच्न सक्नुहुन्छ ।'-अमेरिकास्थित ट्राभल इकोनोमिक्सका प्रेजिडेन्ट एडम स्याक्सले भनेका छन् । 

कोरोना भाइरसको प्रभावले यसको इपीसेन्टर(केन्द्रविन्दू) मानिएको चीनको ट्राभल उद्योग मात्र होइन, विस्तारै यूरोप, पूरा अमेरिका हुँदै यसको नकारात्मक प्रभाव एशियाली मुलुकहरुमा समेत देखिइसकेको रिपोर्टमा उल्लेख छ । 

यूनाइटेड एयरलाइन्सले यो साता सार्वजनिक गरेको एक तथ्यांक अनुसार चीन तथा अन्य प्यासिफिक तथा एशियाली मुलुकसम्मको हवाई यात्रा तथा यसमा निर्भर विजिनेशमा एक सातामै ७५ प्रतिशतको पहिरो गइसकेको छ । 

विगतमा चिनियाँ नागरिकहरु विश्वभर सबैभन्दा धेरै यात्रा गर्ने देशको नागरिक बन्न सफल भएका थिए । किनभने त्यो देशमा १८० मिलियन जनताको पासपोर्ट छ । जब कि १४७ मिलियन अमेरिकीसँग मात्र ट्राभल पासपोर्ट छ । कोरोना भाइरसको इपीसेन्टर नै चीन भएका कारण यहाँका पासपोर्टधारी नागरिकले विश्वभरको यात्रा ठप्प पारेका छन्, जसको सोझो असर यो उद्योगमो समग्र विजिनेशमा परेको समेत विश्लेषण गरिएको छ । 

सामान्य मानिसको सामान्य यात्रा मात्र नभई कोरोना भाइरसका कारण विश्वभर तीव्र रुपमा हुने विजिनेश ट्रिप समेत नराम्ररी प्रभावित भएको छ । यस्तै, छुट्टीमा हुने भ्रमणहरु समेत नराम्ररी प्रभावित भएका छन् । 

यसैबीच, कोरोनाको प्रभावले नराम्ररी प्रभावित ट्राभल उद्योगमा आश्रित धेरैले निकट भविष्यमै जागिर गुमाउनसक्ने प्रक्षेपण समेत हुन थालेको छ । धेरैले आफ्नो काम गर्ने अवधि समेत छोट्याउनुपर्ने हुनसक्छ । यस्तो अवस्था आयो भने यो क्षेत्रमा काम गर्ने तल्लादेखि मध्यम लेभलका कर्मचारीहरुमा सबैभन्दा ठूलो असर पर्नेछ । जागिर वा जागिरको अवधि गुमाउने मामलामा उनीहरु अरुभन्दा अगाडि आउन सक्नेछन् । 

त्यसो त पर्यटन उद्योग अन्तर्गतको यो क्षेत्रमा मात्र होइन, विश्वभरको सेयर बजार तथा वित्त बजार समेत कोरोनाको प्रभावले डामाडोल बनिरहेका छन्  ।

विश्वभरको सप्लाई चेनहरु यसले नराम्ररी प्रभावित पारेको छ भने यही मन्दीका कारण पेट्रोलियम पदार्थको उत्पादन कटौति तथा आपूर्तिमा समेत व्यापक कटौति भई कच्चा तेलको मूल्यमा भारी गिरावट आइसकेको छ । तर, यी सबैसँग कुनै न कुनै रुपमा जोडिने पर्यटन उद्योग नै डामाडोल भएपछि विश्व अर्थतन्त्रले इतिहासकै ठूलो र भयावह मन्दी भोग्नुपर्ने हुनसक्ने चिन्ताहरु समेत व्यक्त हुन थालेका छन् । यसकै कारण विश्वभर अहिले कोरोनाभन्दा ठूलो त्रास अर्थतन्त्रमा आउने मन्दीको छाएको रिपोर्टमा उल्लेख गरिएको छ । 

–एजेन्सी