काठमाण्डौ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण विश्व अर्थव्यवस्था १२ वर्षअघिको संकटभन्दा पनि गहिरो खाडलमा पुर्याएको जनाएको छ।

अहिलेको परिस्थित १२ वर्षअघि सन् २००८ को विश्व वित्तीय संकटभन्दा पनि खराब भएको आईएमएफले जनाएको छ। 

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले अहिलेको परिस्थितिमा बाहिर निस्किन विकसित देशहरुले उदीयमान अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने बताएकी छन्। उनले यो सहयोगबाट आर्थिक चुनौतीलाई पार लगाउँदै महामारीबाट पनि उम्किन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। 

अहिलेको संकट पहिले भोगिएका संकटहरुभन्दा निकै भिन्न रहेको जर्जिवाले बताइन्। ‘यसअघि पनि विश्वभर आर्थिक संकट देखा परेको थियो, त्यति आर्थिक संकटकै कारण सबै देशमा मन्दीको अवस्था थिएन’, उनले भनेकी छन्, ‘तर अहिले भने सबै देश मन्दीको चपेटामा पर्ने प्रायः निश्चित छ।’

आईएमएफले अहिलेको संकटलाई ‘मानवताका लागि अन्धकारमय समय’ पनि भनेको छ। – एजेन्सी