काठमाण्डौ । विश्वभर कोरोना कहर जारी छ । यो बेला विश्वका कैयन देश यसको खोपको खोजीमा दिनरात नभनी जुटिरहेका छन् । यही क्रममा थाइल्याण्डमा समेत खोपलाई लिएर सकारात्मक परिणाम निस्किएको खबर बाहिर आएको छ । थाइल्याण्ड कोरोनाविरुद्धको खोप निर्माणको दोश्रो चरणमा प्रवेश गरेको छ । 

रोयटर्सको एक रिपोर्टअनुसार थाइल्याण्डको यो प्रोजेक्टलाई सुरुवाती सफलता मिलेको छ । कोरोनाविरुद्धको भ्याक्सिन(खोप) विकासको क्रममा मुसामा गरिएको परीक्षण सफल भएको छ । त्यहाँ अब बाँदरमा यो खोपको टायल सुरु गर्न लागिएको खबरमा उल्लेख छ । यतिसम्म कि थाइल्याण्डले अबको ६ महिनाभित्र कोरोनाविरुद्धको खोप तयार भइसक्ने समेत दाबी सार्वजनिक गरेको छ । 

थाइल्याण्डका उच्च शिक्षा, विज्ञान, अनुसन्धानमन्त्री सुवत मेसेन्स भनेका छन् कि मुसामा गरिएको परीक्षणपछि शोधकर्ता खोपको परीक्षणको दोश्रो चरणमा पुगेका छन् । उनका अनुसार सेप्टेम्बरसम्म तीन खालका खोप विकास भइसक्नेछ । 

मन्त्री सुवतले एक पत्रकार सम्मेलनमार्फत भनेका छन् कि यो परियोजना सिंगो मानवाजातिका लागि केन्द्रीत छ । 

यसअघि थाइल्याण्डका एक वरिष्ठ अधिकारीले मुसामा गरिएको खोपको परीक्षणले सकारात्मक रिजल्ट दिएको दाबी गरेका थिए । यो परीक्षणबाट आगामी नयाँ वर्षदेखि थाइल्याण्डले खोपको पूर्ण विकास गर्नेछ र सर्वसाधारणका लागि समेत खोप उपलब्ध हुनसक्नेछ । 

खोजकर्ताहरुले आगामी सातादेखि बाँदरमा यो खोपको परीक्षण गर्ने योजना बनाएका छन् । 

थाइल्याण्डमा राष्टिय भ्याक्सिन संस्थान, चिकित्सा विज्ञान विभाग र  चुललोंगकर्न विश्वविद्यालयको भ्याक्सिन अनुसन्धान केन्द्रको संयुक्त पहलमा खोपमाथि रिसर्च भइरहेको छ । 

हाल कोरोनाविरुद्धको खोप निर्माणमा विश्वका १०० बढी देश जुटेका छन् । यसमध्ये कतिपय देशमा परीक्षणको सुरुवाती चरण चलिरहेको छ भने कतिपय देश परीक्षणको अन्तिम चरणमा पुगिसकेका छन् । अप्रीलमा विश्व स्वास्थ्य संगठनले कोरोनाविरुद्धको खोप बजारमा आउन कम्तीमा १२ महिना लाग्ने बताएको थियो । 

उता, अक्सफोर्ड युनिभरसिटीमामा पनि खोपलाई लिएर संचालनमा ल्याइएको प्रोजेक्टको टायलमा शुक्रबार सफलता प्राप्त भएको छ । यो प्रोजेक्टले ह्यूमन टायलको पहिलो चरण सफलतापूर्वक पार गरेको छ र अब चाँडै नै दोश्रो तथा तेश्रो चरणको समेत सुरुवात हुनेछ । 

यसबाहेक चीनका वैज्ञानिकहरुले खोपबिना नै कोरोना भाइरसको संक्रमण निस्तेज पार्न सकिने दाबी गरिरहेका छन् । खासमा ती वैज्ञानिकहरुका अनुसार चीनको ल्याबमा यस्तो औषधि निर्माण भइरहेको छ, जसले कोरोनालाई नियन्त्रण गर्नेछ । यो औषधिको परीक्षणको चीनको प्रतिष्ठित पेकिंग विश्वविद्यालयले गरिरहेको हो ।