काठमाण्डौ । कोरोनाको निकै डरलाग्दो युद्ध लडिरहेको भारतले निकै लामो समयपछि राहात हुने संकेत पाएको छ । भारतीय मिडियाहरुका अनुसार देशभर बितण्डा मच्चाएको कोरोनाको दोश्रो लहरको पिक सकिएको सुरुवाती संकेत प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यासँगै मृत्युमा समेत कमीको प्रारम्भिक रुझान देखा पर्न थालेको छ । 

यसबाहेक ६१ दिनपछि भारतमा पहिलोपटक यस्तो भएको छ, जुन दिन कोरोनाबाट संक्रमित हुनेहरुको २४ घण्टाको संख्याको तुलनामा सोही अवधिमा कोरोना जित्नेको संख्या अधिक देखिएको छ । 

भारतको केन्द्र सरकारले मंगलबार भनेको छ कि कोभिड १९ संक्रमणका नयाँ मामला र मृत्यु हुनेहरुको संख्या घट्ने रुझान देखिएको बताएको छ । यसलाई भारत सरकारले महामारीको घातक दोश्रो लहर क्रमशः कमजोर बन्न थालेको रुपमा विश्लेषण गरेको छ । 

भारत सरकारकाअनुसार महाराष्ट, उत्तरप्रदेश, दिल्ली, छत्तीसगढ लगायतका १८ राज्य तथा केन्द्र शासित प्रदेशमा नयाँ संक्रमितको संख्या दैनिक घटिरहेको छ । 

तर, कर्नाटक, केरेला, तमिलनाडू, पश्चिमबंगला, पञ्जाब लगायतका १६ राज्य तथा केन्द्र प्रशासित क्षेत्रमा भने कोरोनाको दैनिक ग्राफ माथि चढिरहेको छ । 

भारत सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँका १३ राज्य यस्ता छन्, जहाँ सक्रिय संक्रमितको संख्या १ लाख माथि रहेको छ । २६ राज्य यस्ता छन्, जहाँका संक्रमण दर १५ प्रतिशतभन्दा माथि छ । 

मन्त्रालयको तर्फबाट बिहान ८ बजेसम्म प्राप्त आँकडाअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २९ हजार ९४२ संक्रमित थपिएका छन् । यस्तै, कोभिड संक्रमणबाट ३ हजार ८७६ व्यक्तिले ज्यान गुमाएका छन् । यो अवधिमा ३ लाख ५६ हजारभन्दा बढी व्यक्ति कोभिडबाट मुक्त भएका समाचारमा उल्लेख छ ।     

-नवभारत टाइम्सको सहयोगमा