काठमाण्डौ। कोरोनाभाइरस रोकथाम अभियानअन्तर्गत बैंक नोटलाई निरुत्साहित गर्न नेपालमा पनि अब विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै शुल्क नलाग्ने भएको छ।

विश्वव्यापी महामारी कोरोना संक्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने भएकोले तीनवटा वित्तीय संस्थाहरुको छाता संगठनहरुको शुक्रबार बसेको बैठकबाट विद्युतीय माध्यमबाट गरिने कारोबारलाई प्रोत्साहन गर्न निःशुल्क व्यवस्था गरिएको छ।

बैठकमा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघका प्रतिनिधिहरु सहभागी थिए।

कोरोनाभाइरस संक्रमण रोकथामका लागि विश्वका विभिन्न देशले यसअघि नै बैंक नोट प्रचलन घटाउन विद्युतीय माध्यमबाट कारोबारको थालनी गरिसकेको छ। नेपालमा पनि यो कार्यको सुरुआत भएकोमा विभिन्न सरोकारवाला निकायले सकारात्मक कदमका रुपमा लिएका छन्। 

अहिले विश्वका धेरै देश कोभिड–१९ को प्रकोपले आक्रान्त छ। विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई जोखिमपूर्ण राष्ट्रका रुपमा सूचीकृत गरेको छ। 

सरकारद्वारा गठित नोभल कोरोना रोग रोकथामतथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले पनि एकपटकमा २५ जनाभन्दा बढी जम्मा नहुन, अत्यावश्यक कामबाहेक आवतजावत र हिँडडुल नगर्नलगायत विभिन्न निर्देशन जारी गरिसकेको छ। 

यस्तो अवस्थामा विभिन्न वित्तीय संस्थाका शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले यो कदम उठाएका हुन्। 

बैठकले कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटिम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने निर्णय गरेको छ।

त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस सेवामा कुनै शुल्क नलाग्ने बैठकले निर्णय गरेको छ। यी सबै सेवा÷सुविधाहरुमा शुल्क नलाग्ने व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि उपलब्ध हुनेछन्। 

इन्टरनेट/मोबाइल बैंकिङ सेवा लिनु भएका ग्राहकले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राविधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोनमार्फत सम्पर्क गर्न आग्रह गरिएको छ। साथै अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजानु हुन, भीडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन/जोगाउनका लागि सहयोग गर्न ग्राहकहरुलाई वित्तीय संस्थाहरुले आग्रह गरेका छन्।