काठमाण्डौ । कोभिड–१९ का कारण बढी प्रभावित यातायात क्षेत्र, पर्यटन तथा होटल व्यवसायीमा आबद्ध आफ्ना ऋणि ग्राहकका लागि कामना सेवा विकास बैक लिमिटेडले विशेष राहात र सहुलियत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना सार्वजनिक गरेको छ ।

कोभिडका कारण अति प्रभावित क्षेत्रमा लगानी गरेका बैंकका ऋणिहरुले समेत श्रावण महिनाको तिर्नुपर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाई श्रावण महिनाको ब्याज रकममा ५० देखि ७० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यसअघि पनि बैंकले यस्तो कर्जा लिएका ग्राहकले २०७७ साल आषाढ मसान्तसम्मको बक्यौता रकम २०७७ साल श्रावण मसान्तसम्म भुक्तानी गरेकालाई श्रावण महिनाको ब्याज रकममा ५० प्रतिशत तथा होटल रेष्टुरेन्ट व्यवसाय अन्तर्गत ग्राहकहरुलाई श्रावण महिनाको ब्याजमा ७० प्रतिशतसम्म व्याज रकममा छुट दिएको थियो । सो समयसीमामा बक्यौता नतिरेका बाँकी ऋणीहरुलाई पनि ब्याज रकम छुटमा बम्पर प्याकेज सार्वजनिक गरिएको हो । 

साथै व्यवसायिक प्रयोजनका लागि हायरपर्चेज कर्जा लिएका ग्राहकहरुले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रैमासको ब्याजदरमा भारी छुट प्रदान गरी ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको समेत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । यो योजनाबाट कोभिड– १९ बाट प्रभावित व्यवसायीहरुले अधिकतम लाभ लिई व्यवसाय सञ्चालनमा थप सहजता मिल्ने समेत बैंकले विश्वास लिएको छ ।