काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास व्यापार नराम्ररी प्रभावित भएको छ। 

संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ६१.५५ प्रतिशतले घटेको छ। यो त्रैमासमा संस्थाले २८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ७३ करोड ९५ लाख रुपैयाँ रहेको थियो।

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६०.९९ प्रतिशतले घटेर ४४ करोड ७१ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत १ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानीबापत संस्थाले १ अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको थियो।

संस्थाले समीक्षा अवधिमा १३ अर्ब ३४ करोड निक्षेप संकलन गरी २० अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ११ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको रिजर्भको आकार १४.०७ प्रतिशतले बढेर १ अर्ब ८५ करोड रुपैयाँको उचाइमा पुगेको छ। जुन अघिल्लो वर्ष १ अर्ब ६२ करोड रुपैयाँमा सीमित थियो।

संस्थाको चुक्तापुँजी २५ प्रतिशतले बढ्दै समीक्षा अवधिमा १ अर्ब ५० करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष संस्थाको चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ह्वात्तै घटेर १८.९६ रुपैयाँमा सीमित बनेको छ। जब कि अघिल्लो वर्ष ईपीएस ६१.६३ रुपैयाँ थियो। 

संस्थाको पीई रेसियो ५३.५४ गुणा र प्रतिसेयर नेटवर्थ २२३.३५ रुपैयाँ रहेको छ।