काठमाण्डौ । कोरोना महामारी डिजिटल वित्तीय सेवाहरुका लागि गेम चेन्जर साबित भएको छ।

कम आय भएका वर्गदेखि लिएर साना कम्पनीहरुसम्म सबैलाई मनी फिनटेक सेवाहरु र अनलाइन बैंकिङबाट फाइदा पुगेको छ। डिजिटल वित्तीय सेवाहरु आर्थिक विकासको दृष्टिकोणबाट पनि प्ररेक र उपलब्धीपूर्ण साबित भइरहेको छ।

लकडाउन र सामाजिक दूरीले डिजिटल वित्तीय सेवालाई गति प्रदान गरेको छ। यसबाट डिजिटल भुक्तानीलाई जोडदार बढावा प्राप्त भएको छ र विश्वभर डिजिटल अर्थतन्त्रको वृद्धिमा तीव्रता आइरहेको छ। अफ्रिका र एसियामा डिजिटल भुक्तानी सेवामा सबैभन्दा धेरै तीव्रताका साथ बढिरहेको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनमा विश्वभरका ५२ वटा उदयमान बजारहरु र अर्थतन्त्रहरुको इन्डेक्स अफ फाइनेन्सियल इनक्लुजन (वित्तीय समावेशिता) जारी गरिएको छ। यो प्रतिवेदनमा एसिया र अफ्रिका डिजिटल समावेशितामा तीव्रताका साथ अगाडि बढिहरको देखिएको छ।

प्रतिवेदनमा यी क्षेत्रका केन्या र भारतमा सबैभन्दा धेरै वृद्धि भइरहेको जनाइएको छ। चीनमा भने डिजिटल भुक्तानीको प्रयोग सन् २००३ मा सार्सको दौरान सुरुआत भएको प्रतिवेदनमा उल्लेख छ।

अमेरिका र चीनका साथै उदयीमान बजारहरु जस्तै केन्या, मेक्सिको, नाइजेरिया, भारत र तान्जानियाले डिजिटल कारोबारलाई उग्रताका साथ बढावा दिइरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार पूर्वी अफ्रिका, चीन र भारत सबैभन्दा तीव्रताका साथ बढिरहेको बजारका रुपमा देखिएका छन्।

वित्तीय समावेशिता अर्थतन्त्र र समाज दुवैका लागि राम्रो हुने गर्दछ। पहिले नै गरिएको अध्ययनका अनुसार यसले आर्थिक असमानतालाई समेत कम गर्न सहयोग गर्ने गर्दछ। डिजिटल वित्तीय समावेशितालाई जीडीपी ग्रोथसँग पनि जोड्न सकिने विश्लेषणबाट देखिएको छ।

कोरोना महामारीसँगै चम्किएको डिजिटल पेमेन्टको विश्वव्यापी प्रभाव नेपालमा समेत देखिएको छ। भौतिक रुपमा कारोबार गर्दा संक्रमण फैलन सक्ने भएकाले नेपालमा डिजिटल कारोबार गर्नेको संख्यामा पछिल्लो समय व्यापक वृद्धि देखिएको छ।

नेपाल सरकार र राष्ट्रको निर्देशिकाबमोजिम देशका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन गरिरहेका छन्। यतिमात्रै नभई देशको सेयर बजारमा पनि अनलाइनबाटै सुचारु भइरहेको छ। अनलाइनबाट सेयरको कारोबार गर्नेको संख्यामा व्यापक वृद्धि देखिएको छ।

यसले नेपाललाई डिजिटल कारोबारका माध्यमबाट वित्तीय समावेशितालाई प्रवद्र्धन र सुढृदीकरण गर्दै लान एउटा सुनौलो मौका प्रदान गरेको छ।