काठमाण्डौ । कोरोना भाइरसको संक्रमणका कारण देशविदेशका अधिकांश व्यवसाय चौपट बनेका छन् । तर, कतिपयलाई भने यही बेला मालामाल बन्ने अवसर बनेर आएको छ । 

कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि आपतकाल लगाइएको अमेरिकामा अधिकांश विजिनेश चौपट छ । तर, विश्वकै अर्बपति बन्न सफल जेफ बेजोसले संचालन गरेको अमेजन कम्पनीको व्यापार भने अपत्यारिलो ढंगले बढ्न पुगेको छ । 

सिएनएनका अनुसार कोरोना भाइरस संक्रमणले अमेजनको व्यापार तीव्र रुपमा बढेको छ । विश्वकै अनलाइन जायन्ट अमेजनले ह्वात्तै बढेको अनलाइन माग र विजिनेशको भोल्युमलाई धान्नका लागि यही बीचमा १ लाख फूलटाइम र पार्टटाइम कर्मचारी थपेको छ । छोटो समयमै अमेजनले अमेरिकामा बढेको अनलाइनको माग धान्नका लागि मात्र अमेजनले १ लाख कर्मचारी थपेको समाचारमा उल्लेख गरिएको छ । 

'हामीले अमेजनको प्ल्याटफर्ममा अपत्यारिलो ढंगले सामान खरीदको माग बढेको देखेका छौ । यसको अर्थ हालको जनशक्तिले आएको उच्च माग धान्न नसक्ने भयो । त्यहीकारण छोटो समयमै यति ठूलो जनशक्ति आवश्यक परेको हो ।' अमेजनले आफ्नो भनाई विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । 

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या छोटो समयमै ४ हजार नाघिसकेको छ । 

मानिसहरु घरबाट बाहिर निस्किन डराइरहेका छन् । यहीकारण अनलाइनबाट सामान खरीदारीको ठूलै चाप देखिएको समाचारमा जनाइएको छ । 

त्यसो त अनलाइनबाट आएको अपत्यारिलो उच्च मागकै कारण अमेजनले कतिपय चर्चित ब्राण्डहरुको स्टकआउट भइसकेको यसअघि नै प्रष्ट पारिसकेको छ । खासगरी अमेजनबाट ट्वाइलेट पेपर र विभिन्न प्रकारका वाइपर्सहरुको स्टक आउट भइसकेको बताइएको छ । 

तर, कम्पनीले देश नै आपतमा परेको बेला नागरिकले चाहेको सामान उपलब्ध गराउनु आफूहरुको धर्म रहेको भन्दै सकेसम्म मागअनुसारको सामान आपूर्तिमा कुनै कसर बाँकी नराखेको प्रष्ट्याएको छ । आगामी दिनमा सकेसम्म अमेजनमा आएका मागअनुसारका सामान आपूर्तिमा समेत आफूहरु गम्भीर रहने विज्ञप्तिमा उल्लेख छ । 

अतिरिक्त रुपमा काममा राखिएका हजारौं कामदारहरुका लागि कम्पनीले ३५० लाख डलरभन्दा बढी एकघण्टाकै लागि खर्च गरिरहेको छ । कम्पनीले आपतको बेलामा समेत ठाउँ ठाउँमा सामान पठाउन खटिने कर्मचारीहरुलाई साबिकको तुलनामा प्रति घण्टा २ डलर बढी पारिश्रमिक समेत उपलब्ध गराउन थालेको छ । अमेजनले साबिकको अवस्थामा डेलिभरीमा संलग्न कर्मचारीलाई प्रतिघण्टा १५ डलर पारिश्रमिक दिने गरेको थियो ।