काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसहित २५ गरिब देशलाई कोरोनाभाइरस महामारीसँग लड्नका लागि निःशुल्क सहायताबापत तत्काल कर्जा राहात उपलब्ध गर्ने घोषणा गरेको छ। 

आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले सोमबार वक्तव्य जारी गर्दै सबैभन्दा गरिब र कमजोर सदस्य राष्ट्रहरुलाई आउँदा ६ महिना प्रारम्भिक चरणका लागि ऋण दायित्व कभर गर्न अनुदान दिने बताएकी हुन्। यसले ती देशमा चिकित्सा र अन्य राहात प्रयासमा आफ्नो वित्तीय संसाधनको अधिक प्रयोगमा मद्दत हुने उनको विश्वास छ। 

आईएमएफ बोर्डले २५ गरिब देशका लागि कर्जा राहात मन्जुु्री दिएको छ। जसमा लगभग पूरै अफ्रिकी देशहरुका साथै आफगानिस्तान, यमन, नेपाल र हैटी पनि समावेश छन्। विश्व बैंकसँग मिलेर आईएमफएले धनी देशबाट गरिब देशमा २०२० मे १ बाट २०२१ सम्म ऋण भुक्तानी रोक्न भनेको छ। 

कर्जा राहात आईएमएफको क्याटास्ट्रोप कन्टेन्नमेन्ट एन्ड रिलिफ ट्रस्टद्वारा दिइनेछ। यो ट्रस्ट सन् २०१५ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला भाइरसको प्रकोपसँग लड्नका लागि स्थापना गरिएको थियो। अब कोरोनासँग लड्नका लागि यो ट्रस्टको उपयोग गर्न लागिएको हो।

यो ट्रस्टमा अहिले ५० करोड डलर छ। जसमा मुख्यतया जापान, ब्रिटेन, चीन र नेदरल्यानड्सको योगदान छ। 

गत साता विश्व बैंकले १५ महिनामा आपतकालीन सहायतास्वरुप १६० अर्ब डलर जारी गरेको थियो। जसबाट कोरोना पीडित देशलाई सहयोग गर्ने भनिएको थियो। यो रकमबाट ७६ गरिब देशको सरकारी ऋण चुक्ता गर्न दिइने १४ अर्ब डलर पनि समावेश छ।