काठमाण्डौ। कोरोना महामारीको प्रभावका कारण विमान निर्माता कम्पनी एअरबसले करिब १५ हजार कर्मचारी हटाउने निर्णय गरेको छ।

कम्पनीले कोरोनाभाइरसका कारण उत्पन्न भएको परिस्थितिलाई ‘गम्भीर संकट’ को संज्ञा दिँदै एअरबसलाई अनुमान गरेभन्दा धेरै नोक्सान पुर्याएको जनाइएको छ। करिब ११ प्रतिशत कर्मचारीलाई कामबाट हटाउने निर्णय गर्दै कम्पनीले आफ्नो ब्यालेन्स सिटमा सुधार ल्याउने प्रयास गर्ने जनाएको छ। 

कम्पनीका अनुसार कर्मचारीको कटौती अर्काे वर्षको गर्मी मौसमसम्म गरिनेछ। कोरोनाको महामारीका कारण हवाई यातायातमा कमी आएको र यसले हवाई उद्योग नराम्ररी प्रभावित बनेकाले कम्पनीले कर्मचारी कटौती गर्नेजस्तो ठूलो निर्णय लिएको हो। 

कम्पनीका अनुसार फ्रान्सका ५ हजार कर्मचारीलाई हटाइनेछ। त्यस्तै ५१०० जर्मनीबाट, ९०० स्पेनबाट, १७०० बेलायतबाट र १३०० जना विश्वका अन्य देशहरुबाट हटाइनेछ। 

कम्पनीले कर्मचारी कटौती गर्ने विषयमा कर्मचारी युनियनसँग कुनै पनि सल्लाह नगरिने स्पष्ट पारेको छ। यसका साथै कटौतीका लागि कयौँ उपायहरु अबलम्बन गरिनेछ। यसका लागि स्वेच्छिक सेवानिवृत्ति र समयअगावै रिटायर्डमेन्टजस्ता उपायहरु अपनाइनेछ। 

कम्पनीका सीईओ गुलेमा फारीले कम्पनी अहिले सबैभन्दा कठिन समयबाट गुज्रिरहेको र कर्मचारी कटौती गर्ने घोषणा नयाँ परिस्थितिको सामना गर्नका लागि गरिएको बताए। गत अप्रिल महिनामा कम्पनीले विमान निमार्णमा एक तिहाइले कमी गर्ने घोषणा गरेको थियो। 

विश्वभरका देशहरुको हवाई उडानमा व्यापक कमी आएपछि नयाँ जहानको खरिदमा तीव्र गिरावट आएको। यसले हवाई विमान निर्माण गर्ने एअरबसजस्ता कम्पनीहरुको व्यापार नराम्ररी प्रभावित बनेको छ। जसका कारण कम्पनीहरुले कर्मचारी कटौतीजस्ता उपायहरु अबलम्बन गरिरहेका छन्। – एजेन्सी