काठमाण्डौ। तेल उत्पादक देशहरुको संगठन अर्गनाइजेसन अफ दी पेट्रोलियम एक्पोर्टिङ कन्ट्रिज (ओपेक) र सहयोगी तेल उत्पादक राष्ट्रहरुबीच तेल उत्पादन कटौती गर्ने विषयमा आइतबार साँझ सम्झौतामा सहमति बनेको छ। यो सहमतिपछि कोरोनाभाइरस संक्रमणबाट अन्तर्राष्ट्रिय बजारमा तेलको मागमा आएको कमीका कारण मूल्यमा स्थिरता राख्न उत्पादन १० प्रतिशतले कटौती गरिनेछ।
यो सम्झौतामा एउटा भिडियो कन्फ्रेन्सिङमार्फत सहमति बनेको हो। सम्झौताको मुख्य उद्देश्य कच्चा तेलको मूल्य स्थिर राख्नका लागि उत्पादनमा ठूलो कटौती गर्नु नै थियो। ओपेक प्लस तेल उत्पादकहरुका बीच गत ९ अप्रिल सम्झौता हुनुपर्ने थियो तर मेक्सिकोले तेल उत्पादन कटौतीको विरोध गरिरहेको थियो।
ओपेकले यो सम्झौताको घोषणा गरिनसके पनि यससँग जोडिएका थुप्रै देशहरुले यो सम्झौताबारे पुष्टि गरिसकेका छन्।
सहमतिसँगै ओपेक र सहयोगी तेल उत्पादन देशहरुले अब हरेक दिन ९०.७ लाख ब्यारल तेल उत्पादनमा कटौती गर्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कुवेतका ऊर्जामन्त्री डा खालिद अली मोहम्मद अल फादेलले ट्विट गर्दै यो सहमतिबारे जानकारी दिएका हुन्। साउदी अबरको ऊर्जा मन्त्रालय र रुसको सरकारी न्युज एजेन्सी तासले पनि यसको पुष्टि गरेका छन्।
डा अल फादेलले ट्विटरमा भनेका छन्, ‘लगातार कोसिस र कुराकानीपछि हामीले यो घोषणा गरेर ऐतिहासिक रुपमा हरेक दिन १ करोड ब्यारल तेल उत्पादन कटौती गर्ने सम्झौता गरेका छौँ। आउँदो मे महिनाबाट यो सम्झौता लागू हुनेछ।’
यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले यो सम्झौतामा ट्विट गर्दै भनेका छन्, ‘ओपेक प्लससँग तेल सम्झौता भएको छ। यसले अमेरिकाको ऊर्जा क्षेत्रमा लाखौँ मानिसको जागिर जोगिएको छ। यसका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका राजा सलमानप्रति म आभार प्रकट गर्छु। यो सबैका लागि राम्रो सम्झौता पनि हो।’
विश्वभर कोरोनाको संक्रमणका कारण तीन अरब आवादी घरहरु बन्द छन् र यो कारणले तेलको माग एक तिहाइले कमी आएको छ।
ओपेक प्लस तेल उत्पादन कटौतीको विषयलाई लिएर तयार थिएन। त्यसैले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो १८ वर्षपछिकै सबैभन्दा तल झरेको थियो।
यसअघि साउदी अरब र रुसबीचको मतभेदका कारण तेल उत्पादन कटौतीका विषयमा सम्झौता हुन सकेको थिए। तर अप्रिल २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी र रुसबीचको विवाद सकिने बताएका थिए।
यो सम्झौताअनुसार मे १ बाट ओपेक प्लस देशहरुले तेल उत्पादन हरेक दिन लगभग १ करोड ब्यारल कटौती गर्नेछन्। यसका साथै ओपेक प्लस समूहमा नरहेका अमेरिका, क्यानडा, ब्राजिल र नर्वेले पनि ५० लाख ब्यारल तेल उत्पादन कटौती गर्नेछन्।
यो वर्ष जुलाईदेखि डिसेम्बरबीच तेल उत्पादन कटौतीलाई कम गर्दै हरेक दिन ८० लाख ब्यारल गरिनेछ। यसपछि सन् २०२१ जनवरीदेखि अप्रिल २०२२ सम्म ६० लाख ब्यारलसम्म ल्याइनेछ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19