काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकामा बेरोजगारको अवस्था भयवाह देखिएको छ।

कोरोना संकटकै कारण आर्थिक गतिविधि ठप्पप्रायः अमेरिकामा ३ करोड ३३ लाख मानिसले जागिर गुमाइकेका छन्। कोरोनाका कारण अमेरिका अधिकांश राज्य लकडाउनमा छन्। जसका कारण व्यापारव्यवसाय, उद्योगधन्दा, शिक्षणसंस्था, यातायात सञ्चालनमा प्रतिबन्ध लगाइएका छन्।

यसैगरी अमेरिकामा रहेका अधिकांश बहुराष्ट्रिय कम्पनीहरु पनि बन्द छन्। यसरी कोरोनाबाट उद्योगव्यवसाय ठप्प हुँदा त्यहाँ कार्यरत करोडौँ मानिसको रोजगारी संकटमा परेका छन्। 

केही कम्पनीले आफ्नो कर्मचारीलाई घरबाटै काम गर्न अनुमति दिए पनि रोजगारीमा परेको संकट गहिरिँदै गएको छ। रोजगार गुमाउनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरु बताउँछन्। 

त्यसो त गत सातामात्रै अमेरिकामा करिब ३२ लाख अमेरिकीहरुले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन्। 

कोरोनाभाइरसबाट विश्वभर ३८ लाख बढी मानिस संक्रमित भएकोमा २ लाख ६७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। अमेरिकामा मात्रै कोरोना संक्रमणबाट ७५ हजार ५०० को हाराहारीमा ज्यान गइसकेको छ। – एजेन्सी