बेइजिङ । कोरोना संक्रमण फेला परेपछि हालसम्मको अवधिमा शुक्रबार चीनमा पहिलोपटक कुनै पनि संक्रमित भेटिएनन् । 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार गत वर्षको डिसेम्बर महिनामा चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । त्यसयता पहिलो पटक शुक्रबार एउटा पनि संक्रमणको केश देखिएन । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन ।

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमणले अहिले विश्वभर प्रकोपको रुपमा लिएको छ । कोरोना नियन्त्रणका लागि विश्वभरका सरकारहरुले लगातार लकडाउन तथा अन्य बन्देजका कडा नियमहरु लागू गरेका छन् । लामो समयसम्मको लकडाउनका कारण विश्वकै अर्थतन्त्र तहसनहस भइसकेको छ । 

विश्वका अन्य देशमा विध्वंश मच्चाइरहेको कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा मार्चबाट संक्रमणको घटनामा गिरावट आएको थियो । तर चीनमा बाहिरबाट आएका व्यक्तिमा भने संक्रमण बढिरहेको छ । विदेशबाट फर्किएका चिनियाँ नागरिकहरुमा संक्रमण फेला परिरहेको बताइएको छ । 

रोयटर्सका अनुसार पछिल्लो समय चीनको पूर्वीउत्तर सीमावर्ती जिलिन र हेइलोङजियाङ प्रान्त संक्रमणको इपिसेन्टर बन्दै गएका छन् । 

कोरोनाको उद्गमस्थल वुहानमा गत अप्रील ८ बाट लकडाउन हटाइए पनि सरकारले त्यहाँका १ करोड १० लाख व्यक्तिको स्वास्थ्य परीक्षण गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरिसकेको छ । 

हालसम्म चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ हजार ८१ पुगेको छ । त्यस्तै ४ हजार ६ सय ३८ जनाको ज्यान भएको छ । हाल चीनभर १११ संक्रमित मात्रै अस्पतालमा उपचार गराइरहेका छन् ।