काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ९० करोड ८२ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

यो बैंकमा प्रिमियमको रुपमा ३ करोड ८ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४५ करोड रहेको छ । यसरी यो बैंकले यसपटक लगानीकर्तालाई ११.१० प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

कोरोना कहरका कारण माछापुच्छ्रे बैंकको नाफा घटेको छ । अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ६९ करोड नाफा आर्जन गरेको बैंकले यो वर्ष १ अर्ब २५ करोड मात्रै नाफा कमाएको छ । 

अघिल्लो वर्ष २ अर्ब ४० करोड रहेको संचालन मुनाफा बढेर यो वर्ष १ अर्ब ९० करोडमा सीमित बन्न पुगेको छ भने १ अर्ब ८५ करोडमा सीमित रिजर्बको आकार बढी २ अर्ब १५ करोडको उचाईमा पुगेको छ। 

बैंकले समीक्षा अवधिमा १ खर्ब ४ अर्ब बढी निक्षेप संकलन गरी ९२ अर्ब ३३ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८५ अर्ब १९ करोड निक्षेप संकलन गरी ७५ अर्ब ९ करोड कर्जा परिचालन गरेको थियो । यसरी कोरोना संकटकै बीच बैंकले आफ्नो विजिनेशको आकार बढाएको देखिएको छ । 

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ०.५४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो कर्जाको अनुपात ०.३७ प्रतिशत थियो । 

बैंकको कस्ट अफ फण्ड घटेर ६.७१ प्रतिशतमा सीमित भएको छ भने सीडी रेसियो ७३.८१ प्रतिशत, बेस रेट ९.२१ प्रतिशत, प्रतिसेयर आम्दानी १४.८० रुपैयाँ, प्रतिसेयर बजार मूल्य २२० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.८० रुपैइाँ, मूल्य आम्दानी अनुपात १४.८६ गुणा र कुला सम्पत्तिमा प्रतिफल १.०१ प्रतिशत रहेको छ ।