काठमाण्डौ । पश्चिमा देशहरुमा कोरोना भाइरस संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । 

नेपालसँग खुल्ला सीमा जोडिएको भारतमा समेत यो भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ । भारतले यसलाई फैलिन नदिन कडा कदम चालेको छ । 

नेपालले समेत संभावित संक्रमणको जोखिम रोक्न चीन र भारतका सबै सीमा नाका बन्द गर्ने, अन्तराष्टिय उडान ठप्प पार्ने, लामो दूरीको सवारी आवातजावतमा रोक लगाउने लगायतका कडा कदम उठाइसकेको छ । नेपालमा अत्यावश्यक बाहेकका सेवा १३ दिनका लागि ठप्प पारिएको छ । 

पश्चिमा देशहरुसँग तुलना गर्ने हो भने सिंगापुर, हङकङ र ताइवानमा केही हप्ताअघिदेखि नै कोरोना भाइरसको संक्रमण फेला परेको थियो । तर, चीनको नजिक भएर पनि यी एशियाली देशहरुमा संक्रमणका घटना विश्वका अन्य देशको तुलनामा निकै कम छन् ।

यी देशहरुले अरुभन्दा फरक के गरे र भाइरस फैलिन पाएन ? अन्य देशले यी देशहरुबाट के सिक्न सक्लान् त ? आउनुहोस् हेरौं:

पहिलो पाठ: गम्भीर बन्नुहोस् र तुरुन्त एक्सनमा जानुहोस्
स्वास्थ्य विशेषज्ञहरु संक्रमणको फैलावट रोक्नका लागि उठाउनुपर्ने अत्यावश्यकीय कदमको विषयमा एकमत छन्: ठूलो संख्यामा जाँच गर्नुहोस्, संक्रमित मानिसहरुलाई तुरुन्तै आइसोलेसनमा राख्नुहोस् तथा मानिसलाई भीडभाडमा जान नदिनुहोस् र मानिसहरुलाई संक्रमितको नजिक जान बिल्कुलै नदिनुहोस् । 

अब पश्चिमा देशहरुमा यस्ता कदम उठाउन थालिएको छ । तर, ती देशहरुमा समस्या यो भयो कि उनीहरु तुरुन्त एक्सनमा जान सकेनन् । विश्व स्वास्थ्य संगठनको रिसर्च पोलिसीका पूर्व निर्देशक तिक्की पंगेस्तुले बीबीसीको एक रिपोर्टमा भनेका छन्-'अमेरिका र ब्रिटेनले एक अवसर गुमाएका छन् । उनीहरुसँग चीनपछि पनि २ महिना समय थियो । तर उनीहरुलाई लाग्यो उनीहरुबाट चीन धेरै टाढा छ र उनीहरुलाई केही हुनेवाला छैन ।' 

डब्ल्यूएचओले गत वर्षको डिसेम्बरमै चीनमा सार्सजस्तै निमोनिया देखिएको रिपोर्ट गरिसकेको थियो । तर, त्यो बेलासम्म मानिसहरुमा एक अर्काबीच यो संक्रमण फैलिनसक्छ भन्ने पुष्टि हुन सकेको थिएन । भाइरसको विषयमा धेरै जानकारी समेत थिएन, तर त्यसको तीन दिनको अवधिमा सिंगापुर, ताइवान र हङकङले आफ्नो सीमामा स्क्रिनिङ सुरु गरिसकेका थिए । 

ताइवानले बुहानबाट आउने विमानका यात्रीहरु बिमानबाट ओर्लिनुअघि नै उनीहरुको स्वास्थ्य जाँच गर्न थालिसकेको थियो । जब जब वैज्ञानिकहरुलाई यो भाइरसको विषयमा अझ बढी जानकारी हुँदै गयो, यो कुरा पत्ता लाग्यो कि जति पनि संक्रमित मानिसभित्र लक्षण देखिएन, उनीहरुले समेत अरुमा संक्रमण फैलाउन सक्ने रहेछन् । यसैकारण कोरोनाको पुष्टिका लागि ल्याब टेस्ट गर्नैपर्ने विषय अनिवार्य बन्न पुग्यो । 

दोश्रो पाठ: जाँचलाई सर्वसुलभ र सस्तो बनाउने
सुरुवातमा दक्षिण कोरियामा कोरोना संक्रमणका घटना तीव्र रुपमा बढे । तर, यहाँ संक्रमण पुष्टिका लागि टेस्ट विकसित गरियो र २ लाख ९० हजार भन्दा बढी मानिसको परीक्षण गरियो । अहिले पनि यहाँ प्रत्येक दिन १० हजार भन्दा बढी मानिसको निःशुल्क स्वास्थ्य जाँच भइरहेको छ । 

नेशनल युनिभरसिटी अफ सिंगापुरका इमर्जिंग इन्फेक्सियस डिजिजका प्रोफेसर आई इङ इयाङले भनेका छन्-'जुन हिसाबले उनीहरुले व्यवस्थापन गरे, जनताको स्वास्थ्य जाँच गराए, त्यो साच्चिकै कमाल छ ।' 

सन् २०१५ मा जब मिडल इस्ट रेस्पिरेटरी सिन्डम फैलिएको थियो, त्यसबेला दक्षिण कोरियामा ३५ मानिसको मृत्यु भएको थियो । त्यही घटनादेखि यो देशमा संक्रामक बिरामीको जाँचको मञ्जुरीका लागि विशेष सिस्टम रहेको छ ताकि तुरुन्त जाँच गर्न सकियोस् । 

उता, अमेरिकामा जाँचमा ढिलाई गरियो । सुरुवातका टेस्ट किट खराब थिए र प्राइभेट ल्याबमा गरिने टेस्टलाई मान्यता दिने काममा समेत त्यहाँ ढिलाई गरियो । धेरै मानिसहरु महंगो भएका कारण आफ्नो स्वास्थ्य जाँच गराउन पाएनन् । पछि मात्र यहाँ कानून बनाइयो र सबैका लागि निःशुल्क जाँचको प्रावधान कार्यान्वयनमा ल्याइयो । 

यहीबीचमा ब्रिटेनले भन्यो कि जो मानिस अस्पतालमा छन् उनीहरुको मात्र जाँच गरिनेछ । यसले ती मानिसहरुको पहिचान गर्न गाह्रो भयो, जो संक्रमणको चपेटामा आइसकेका थिए, तर उनीहरुमा लक्षण देखिएको थिएन, जो घरमै थिए । प्रोफेसर पंगेस्तुको भनाईमा कैयन देशहरुसँग जाँचका लागि पर्याप्त किट्सहरु नै छैन । 

उनले व्यापक गतिमा जाँच गर्नुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँछन् । यसबाट उनीहरुको समेत पहिचान हुन सकोस्, जो अस्पतालमा छैनन्, तर यताउता घुमेर अरुलाई समेत संक्रमित बनाइरहेका छन् । 

तेश्रो पाठ: पहिचान गर्नुहोस् र अलग-अलग ठाउँमा राख्नुहोस्
जो मानिसमा लक्षण देखिएको छ, उनीहरुको पहिचान गर्नु मात्र पर्याप्त होइन । सो व्यक्ति को कोसँग सम्पर्कमा पुगिसकेको छ, यो विषय पत्ता लगाउनु पनि निकै महत्वपूर्ण छ । सिंगापुरमा गुप्तचरहरुले ६ हजार मानिसहरुको सीसीटिभी फूटेज लगायतको माध्यमबाट पहिचान गरे, जो संक्रमित व्यक्तिको सम्पर्कमा हुनसक्थे । 

फेरि ती व्यक्तिहरुको समेत टेस्ट गरियो र रिपोर्ट नआएसम्मका लागि उनीहरुलाई आइसोलेसनमा रहन कडा आदेश दिइयो । हङकङमा त ती व्यक्तिहरुको समेत पहिचान गरियो, जो कुनै व्यक्ति संक्रमित हुनुभन्दा २ दिनअघि समेत उसको सम्पर्कमा थिए । 

यस्तै, यी  देशहरुले जस जसलाई आइसोलेसनमा रहनु भन्नु आदेश दिएका थिए, उनीहरुले साच्चिकै आदेश पालना गरेका छन् या छैनन् भन्ने विषय जाँच्नका लागि कैयन तरिका अपनाइयो । हङकङमा विदेशबाट आउने मानिसको हातमा एक इलेक्टिक ब्रासलेट लगाइन्थ्यो, जसले उनीहरुको गतिविधि ट्रयाक होस् । 

अधिकार तथा स्वतन्त्रता
सिंगापुरमा जो मानिसलाई घरमै अलग रहन भनिएको थियो, उनीहरुलाई दैनिक कैयन पटक सम्पर्क गर्ने गरिन्छ र प्रत्येक पलको फोटो समेत मगाइने गरिएको छ, ताकि उनीहरुको हरेक गतिविधि थाहा हुन सकोस् । 

सिंगापुरमा जसलाई घरमै बस्न भनिएको हुन्छ, यदि उसले आदेशको उल्लंघन गर्छ भने उनीहरुलाई निकै ठूलो जरीवाना लगाइन्छ र जेलसम्मको सजाय हुनसक्छ । यस्तै एक व्यक्तिलाई त सिंगापुरले देश निकालाकै कारबाही गर्यो । 

कैयौ पश्चिमा देश यस्ता खालका कदम उठाउन सकिरहेका छैनन्, किनभने त्यहाँ निकै ठूलो जनसंख्या छ  र ती देशहरुमा नागरिकहरुको स्वतन्त्रता र अधिकार समेत धेरै रहेको छ । 

प्रोफेसर ओइले भनेका छन्-'हामीले यति राम्रो किन गर्न सक्यौं भन्दा यहाँ आवादी कम छ । तर, पूरा विश्वमा यस्तो गर्न संभव छैन । हाम्रै शैलीलाई पछ्याउनुभन्दा पनि प्रत्येक देशले आफ्नो परिस्थिति अनुसारको सिस्टम चाहि बनाउनुपर्छ ।' 

चौथो पाठ: समय छँदै सामाजिक दूरी
कुनै पनि व्यापक संक्रमणलाई रोक्ने हो भने त्यसका लागि सामाजिक दूरी कायम राख्नु सबैभन्दा उत्तम तरिका मानिन्छ । तर, यसमा जति ढिलाई गरियो, पछि स्थिति काबुमा ल्याउनका लागि उति नै पापड बेल्नुपर्ने हुन्छ । कोभिड १९ फैलिएको चीनको बुहानमा सटडाउन हुनुभन्दा पहिला नै त्यहाँका ५० लाख मानिस अन्य क्षेत्रतर्फ गइसकेका थिए । 

इटली र स्पेन दुवैले राष्टियस्तरमै लकडाउन गर्नुपर्यो, किनभने त्यहाँ कोरोना प्रभावितको संख्या हजारौं पुगिसकेको थियो । न्यूयोर्क र क्यालिफोर्नियाले पनि आफ्ना नागरिकहरुलाई घरमै बस्न उर्दी जारी गरेका छन् । उनीहरु दैनिक उपभोग्य वस्तु र सागसब्जी लिन मात्रै घरबाट निस्किन सक्छन् । 

अर्कोतर्फ, सिंगापुरमा स्कूलहरु अझै पनि खुल्लै छन् । तर, यहाँ ठूलो संख्यामा मानिसहरु जम्मा हुन प्रतिबन्ध लगाइएको छ । हङकङमा भने स्कूलहरु बन्द गरिएका छन् र मानिसहरुलाई घरबाटै काम गर्न भनिएको छ । तर, यहाँका रेष्टुराँ र बारहरु भने खुलेकै छन् । 

प्रोफेसर ओइका अनुसार सामाजिक दूरी कायम गर्नमा सरकारले तुरुन्त प्रयास गर्नुपर्छ । उनको भनाईमा अधिकांश देशले आक्रामक एक्सन त्यसबेला मात्र सुरु गरे, जतिबेला हजारौंलाई कोरोना संक्रमण भइसकेको थियो । 

स्कूल बन्द गर्ने र धेरै मानिस जम्मा हुन प्रतिबन्ध गर्ने गरी आउने सरकारी रोकबाहेक सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न उत्प्रेरित गर्न आवश्यक छ । 

पाँचौ पाठ: जनतालाई जानकारी दिइरहनुहोस्
प्रोफेसर पंगेस्तुको भनाईमा जबसम्म जनताको सहयोग हुँदैन, तबसम्म सारा नीति तथा कदम बेकार साबित हुनेछन् । उनले भनेका छन्-'सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि तपाईले जनतालाई यो देखाउनुपर्छ कि तपाईले जे नीति बनाइरहनुभएको छ, त्यो वैज्ञानिक छ ।' 

चीनले यसकारण आलोचनाको सामना गर्नुपर्यो, किनभने उसले संक्रमण फैलिएको कुरा स्वीकार गर्न ढिलाई गर्यो । यसैका कारण बुहानमा निकै ठूलो राजनीतिको र्याली समेत हुन दियो । प्रशासनले ती डाक्टरहरुलाई सजाय दियो, जसले संक्रमणको खतरा अरुमा पनि फैलिनसक्छ भन्दै सचेत गराउने अभियानमा थिए । 

तर, अब भने भाइरसको फैलावट रोक्नका लागि उठाएका कदमहरुका कारण चीनको तारिफ हुन थालेको छ । उसले निकै ठूलो आकारमा तुरुन्त लकडाउन गर्यो र अस्पतालको क्षमता समेत रातारात बढायो । तर, यस्ता खालका आपतमा त्यतिबेला ठूलो कदम उठाउनुपर्छ, जति बेला तपाईले ढिलो गर्नुहुन्छ । 

अमेरिकाका राष्टपति डोनल्ड टम्पले आउब्रेक तथा टेस्ट किट्सको विषयलाई लिएर सरकारी अधिकारीहरुभन्दा फरक अभिव्यक्ति दिए । यसको कारण थियो त्यहाँको अव्यवस्था र लापरबाही । किनभने सरकारले पनि सही ढंगले समयमै कति मानिसको जाँच भयो भन्ने तथ्यांक दिएन र निकै धेरै निजी ल्याबले पनि सरकारी सिस्टममा यसको जानकारी दिएनन् । 

प्रोफेसर आईको भनाईमा महामारीको विषयको जानकारी पारदर्शी रुपमा दिन आवश्यक छ, ताकि मानिस नआत्तिउन् । हङकङमा अनलाइन ड्यासबोर्ड नै बनाइएको छ, जहाँ नक्सामा देखिन्छ कि कहाँ कहाँका मानिसमा संक्रमण रहेको छ । दक्षिण कोरियाका नागरिकको मोवाइलमा उनीहरु नजिक कुनै संक्रमित फेला परे या नपरेको सूचना मोवाइल अलर्टमार्फत दिइन्छ । 

सिंगापुर सरकारले आफ्ना जनतालाई कोरोना भाइरस संक्रमणको विषयमा प्रष्ट जानकारी समयमै दिने गरेको छ । प्रधानमन्त्रीले त्यहाँका जनतालाई अत्तालिएर अतिरिक्त सामान स्टोर नगर्न आह्वान गरे र जनताले उनलाई साथ दिए । 

छैठौं पाठ: जनताको सहयोग
कतिपय मानिसहरु भन्छन् कि एशियाली मानिस सरकारी आदेश मान्नका लागि धेरै तयार रहन्छन् । तर, हङकङमा सरकारप्रति जनताको भरोसा कम छ, र त्यहाँ कयौं महिनादेखि सरकारीविरोधी प्रदर्शन जारी रह्यो । 

तर, विश्वकै सबैभन्दा बढी भीडभाड हुने शहरमध्येको एक यहाँका अधिकांश मानिसले स्वेच्छाले नै आफूलाई अलगथलग गरिदिए । कतिपय मानिसले नयाँ वर्षमा हुने उत्सवहरुमा समेत भाग लिएनन् । 

प्रोफेसर पंगेस्तुको भनाईमा हङकङका जनता सरकारप्रति भरोसा नगरे पनि उनीहरु हङकङप्रति भने गर्व गर्छन् र उनीहरु कोरोना भाइरस आफ्नो इलाका फैलिन नदिन सचेत र गम्भीर छन् । 

हङकङका मानिसहरुमा जिम्मेवारीपन रहेको अन्य देशका विज्ञहरु पनि बताउँछन् । मानिसहरुलाई सन् २००३ को सार्स संक्रमणको याद ताजै छ, यसकारण समेत उनीहरु सचेत छन् र संकटमा सरकारी नीतिलाई सहयोग गरिरहेका छन् । 

एशियाका कैयन देशमा मास्कको समेत खूबै प्रयोग हुन्छ । तर, पश्चिमा देशमा मानिसहरुमा मास्क नलगाउने खराब बानी रहेको विज्ञहरु बताउँछन् । 
विज्ञहरुले मास्कलाई कोरोना भाइरसविरुद्धको जादूको छडी मान्दैनन्, तर उनीहरु कसैले मास्क प्रयोग गर्छ भने बाँकी तरिका झै यसले पनि संक्रमण फैलन भने नदिनेमा सहमति राख्छन् । 

के यति नै पर्याप्त छ त ?
विशेषज्ञहरुले भन्ने गर्छन् पश्चिमा देशहरुमा निकै नै कडा कदम उठाउन थालिएको छ र यसबाट क्रमशः संक्रमण फैलन कम हुन थाल्नेछ । तर, यसपछि निकै ठूलो चुनौति सामान गर्नुपर्ने हुनसक्छ, जुन एशियाली देशहरुले अहिले गरिरहेका छन् । 

चीन, दक्षिण कोरिया, सिंगापुु, हङकङ र ताइवानले थप संक्रमण फैलिन रोकेका छन्, तर उनीहरुको सीमामा बाहिरबाट आइरहेका मानिसहरुका कारण कोरोना भाइरस संक्रमणको दोश्रो लहरको खतरा पैदा भइसकेको छ । अहिलेसम्म यो निश्चित भएको छैन कि यो प्रकोप कहिलेसम्म कायमै रहिरहनेछ भनेर । 

चीनमा लकडाउनपछि अवस्था नियन्त्रणमा आइसकेको छ । अहिले जुनजुन देशले कदम उठाइरहेका छन् त्यहाँ पनि चाँडै नै संक्रमण नियन्त्रणमा आउनसक्ने विज्ञ बताउँछन् । तर, उनीहरुले लकडाउनलाई जति चाँडो अन्त गरियो, संक्रमण फैलिने खतरा उति नै बढ्छ । 

उनीहरु भन्छन्-'जबसम्म भ्याक्सिन विकसित हुँदैन । हामी राहातको सास फेर्न सक्दैनौ । यस्तो गर्दा १८ महिनासम्म लाग्नसक्छ । तर, सामाजिक दूरी कायम गराउने मामलामा हङकङका जनता २ महिनामै थाकिसकेका छन् । यसकारण जति समयसम्म सामाजिक दूरी जरुरी हुन्छ, तबसम्म उनीहरु धैर्य हुनसक्छन् भन्ने कुराको निश्चित नहुने रहेछ ।' 

यो संक्रमणबाट जहाँका मानिसहरु बढी प्रताडित छन्, त्यहाँको अर्थतन्त्र पनि डामाडोल बनेको छ ।

(बीबीसीको सहयोगमा बिजशालाले तयार पारेको रिपोर्ट)