काठमाण्डौ । जुलाई महिनामा बेलायतको अर्थतन्त्रमा ६.६ प्रतिशतको वृद्धि देखिएको छ । अर्थतन्त्रमा वृद्धि देखिए पनि बेलायतको अर्थतन्त्र कोरोना महामारीपूर्वको स्तरभन्दा अझै धेरै टाढा रहेको छ । 

जुलाई महिनामा देखिएको यो वृद्धि लागातार तीन महिना देखिएको वृद्धि हो । तथापि बेलायतको राष्ट्रिय तथ्यांक विभागले भने अहिले देखिएको वृद्धि कोरोनाका कारण गुमेको उत्पादनको आधा मात्रै रिकभर भएको जनाएको छ । 

जुलाई महिनामा कम्पनीहरुलाई सञ्चालन गर्न अनुमति दिइएपछि अर्थतन्त्रमा देखिएको वृद्धिमा कपडा पसलहरु, पबहरु र रेष्टुराँहरुले योगदान दिएका छन् । 

वस्तु तथा सेवाहरुको मात्रा र मूल्यले मापन गरिने बेलायतको अर्थतन्त्र अहिले पनि फेब्रुअरी महिनाको तुलनामा ११.७ प्रतिशत कम छ । 
जुलाईमा देखिएको वृद्धि पनि जुन महिनामा देखिएको ८.७ प्रतिशतको वृद्धिभन्दा कम छ । 

तथापि केही संकेतहरु अझै पनि उत्साहपूर्ण देखिएका छन् । बेलायतको क्यापिटल इकोनोमिक्सका अर्थशास्त्री थोमस पगले रेष्टुराँ र पबहरु खुल्ला गरिएकाले आवास र फुड सर्भिस सेक्टर जुन र जुलाई महिनाबीच १४०.८ प्रतिशतले वृद्धि भएको बताएका छन् । 

यसले मदिरा उद्योगमा नकअन इफेक्ट परेको छ र यो उद्योग ३२.७ प्रतिशतले वृद्धि भएको छ । 

जवान बेलायतीहरुलाई घरमै राख्ने निर्णयले पनि खेलौना र गेमहरुको मागमा समेत उछाल आएको छ । तथापि अहिले पनि आवास तथा फुड सर्भिस सेक्टरको गतिवधि फेब्रुअरी महिनाको भन्दा ६०.१ प्रतिशत कम छ ।