काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ करोड ९१ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

बैंकले समीक्षा अवधिमा ६० करोड बढी खूद नाफा आर्जन गरेको छ । नाफातर्फको यो बढोत्तरी गत वर्षको तुलनामा ५० प्रतिशतले बढी हो । 
यो बैंकमा देवः विकास बैंक गाभिएका कारण समेत खूद नाफाको आकार बढेको हो । 

कोरोना कहरकै बीच बैंकले ८६ करोड बढी संचालन मुनाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा ५६ करोडमा सीमित थियो । 

बैंकले समीक्षा अवधिमा व्यवसायको आकार पनि बढाएको छ । यसैको फलस्वरुप १ अर्ब ३१ करोड बढी खूद ब्याज आम्दानी भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९१ करोड ८५ लाखमा सीमित थियो । 

कुल १२ अर्ब ५२ करोड चुक्तापूँजी भएको बैंकको ३ अर्ब ३४ करोडमा सीमित रिजर्बको आकार बढेर ३ अर्ब ५९ करोडको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब १७ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १ खर्ब १६ अर्ब निक्षेप संकलन गरी १ खर्ब १० अर्ब नै कर्जा परिचालन गरेको थियो । 

बैंकको १ अर्ब ३१ करोडमा सीमित रिटेन अर्निंग बढेर १ अर्ब ६७ करोडको उचाईमा पुगेको छ । 

नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष यही अवधिसम्म इपीएस १६.८३ रुपैयाँ रहेकोमा बढेर १९.२५ रुपैयाँ पुगेको हो । यो भनेको १४.३७ प्रतिशतको बढोत्तरी हो । 

समीक्षा अवधिमा कुमारी बैंकको १.०५ प्रतिशतमा सीमित खराब कर्जा बढेर १.४३ प्रतिशतको अनुपातमा पुगेको छ । देवः विकास बैंकसँगै खराब कर्जा पनि बंैकमा सर्दा यस्तो अवस्था भएको हो । 

समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७५.३१ प्रतिशत रहेको देखिएको छ । अघिल्लो वर्ष यस्तो रेसियो ७९.८० प्रतिशत थियो । कोभिडकालका लागि केन्द्रीय बैंकले ८५ प्रतिशतको सीडी रेसियोको सीमा तोकिदिएको छ । यसको अर्थ कोभिडकै कारण कुमारी बैंकले चाहेअनुसार लगानी गर्न नसकेको यो तथ्यले देखाउँछ । यस्तो अवस्थामा पनि नाफा र इपीएस बढ्नु सुखद पक्ष हो । 

समीक्षा अवधिका लागि बैंकको मूल्य आम्दानी अनुपात ११.५८ गुणा, प्रतिसेयर नेटवर्थ १४२.०५ रुपैयाँ र तरलता अनुपात २१.११ प्रतिशत रहेको छ ।