काठमाण्डौ । अमेरिकामा फैलिएको कोरोना संक्रमणको इपीसेन्टर न्यूयोर्कमा एक नेपाली संक्रमितको समेत ज्यान गएको छ । 

विगत १५ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका एक नेपालीको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको हो । 

गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत पाँचथर घर भएका ४७ वर्षीय अनिल सुब्बाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको न्युयोर्कस्थित नेपाली कन्सुलेट पुष्पराज भट्टराईले संचारमाध्यमहरुलाई जानकारी गराएका छन् । 

शुक्रबारदेखि क्वीन्सस्थित एलमहष्ट अस्पतालको सघन उपचार कक्षमा उपचाररत ती व्यक्तिको स्थानीय समयअनुसार सोमबार राति निधन भएको बताइएको छ । 

उनी लामो समयदेखि त्यहाँ ट्याक्सी चलाउने गर्थे । उच्च रक्तचाप र मधुमेहबाट उनी पीडित थिए ।